दलको नेताविना नै रास्वपा संसदीय दलको ‘छलफल’, मन्त्री र सांसदबीच खटपट बढेपछि रविको सक्रियता
काठमाडौं : संसद्मा आफ्नै मन्त्री र सांसदहरूबीच असमझदारी बढ्दै गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबारमा सांसद तथा मन्त्रीहरूसँग आन्तरिक छलफल सुरु गरेका छन्।
संसदीय दलको कार्यालयमा सुरू भएको ‘छलफल’ नाम दिइएको यस भेलामा संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह भने उपस्थित भएका छैनन्।
दलका नेता नै अनुपस्थित भएपछि पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले यसलाई संसदीय दलको बैठक नभनी ‘छलफल’ मात्र भनेका छन्।
‘पार्टी सभापतिको आह्वानमा अहिले भइरहेको बैठक अनौपचारिक हो,’ उनले भने, ‘सरकारका कामकारबाहीबारे सांसदहरूलाई जानकारी गराउने र छलफल गर्ने उद्देश्यले मन्त्रीहरूलाई पनि बैठकमा सहभागी गराइएको हो।’
पछिल्लो समय संसद् र सार्वजनिक मञ्चहरूमा रास्वपाका मन्त्री र सांसदहरूबीच तालमेल नमिलेको र सत्तापक्षकै सांसदहरूको भूमिका अराजक बन्दै गएको भन्दै आलोचना भइरहेको थियो।
संसद्मा सांसदहरूले बोल्ने भाषा, मर्यादित व्यवहार र सरकारको कामकारबाहीलाई लिएर पार्टीभित्रै असन्तुष्टि चुलिएपछि सभापति लामिछानेले सबै सांसद र मन्त्रीहरूलाई अनिवार्य उपस्थितिको निर्देशन दिएर छलफलमा बोलाएका हुन्।
सत्तापक्षमै रहेर पनि आफ्नै सरकारका मन्त्रीहरूलाई असहयोग गर्ने र संसद्मा प्रस्तुत हुँदा मर्यादाको ख्याल नगर्ने प्रवृत्ति बढेपछि सभापति लामिछानेले आन्तरिक अनुशासन कायम राख्न यो पहल थालेका हुन्।
भदौ ३, २०८३ बुधबार १२:३८:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।