अस्ट्रेलियाका पूर्वक्रिकेटर डेभिड वार्नर कारबाहीमा, प्रहरी देखेपछि गरेका थिए सिट साट्ने प्रयास
एजेन्सी : अस्ट्रेलिया क्रिकेट टिमका पूर्व चर्चित ओपनर ब्याटर डेभिड वार्नर मदिरा पिएर गाडी चलाएको (मापसे) मुद्दामा दोषी ठहर भएका छन्।
सिड्नीको एक अदालतले उनलाई १ हजार ५०० अस्ट्रेलियन डलर जरिवानाको फैसला सुनाएको छ।
जरिवानाका साथै अदालतले वार्नरलाई आफ्नो कारमा ‘अल्कोहल इन्टरलक’ यन्त्र जडान गर्न आदेश दिएको छ।
यो विशेष यन्त्रले चालकको शरीरमा मदिराको मात्रा भेटिएमा गाडी स्टार्ट हुन दिँदैन। वार्नरले गत अप्रिलमा सिड्नीमा मापसे गरी गाडी चलाएको आरोप अदालतसमक्ष स्वीकार गरेका थिए।
पारिवारिक कार्यक्रमबाट परिवारसहित घर फर्किने क्रममा गरिएको स्वास्थ्य परीक्षणमा वार्नरको रगतमा अल्कोहलको मात्रा तोकिएको कानुनी सीमाभन्दा दोब्बरभन्दा बढी पाइएको थियो।
‘इस्टर सन्डे’को दिन सडक किनारमा प्रहरीको चेकिङ देखेपछि वार्नरले गाडी रोकेर सँगै रहेकी महिलासँग सिट साट्ने प्रयाससमेत गरेको सुनुवाइका क्रममा अदालतलाई जानकारी गराइएको थियो।
सुनुवाइ गर्दै न्यायाधीश क्लेयर फार्ननले घटनाको समयमा कारभित्र बालबालिकासमेत रहेकाले यो लापरबाही निकै गम्भीर भएको बताइन्। उनले सडक दुर्घटनाको मुख्य कारण नै मापसे रहेको उल्लेख गर्दै वार्नरले भविष्यमा यस्तो गल्ती नदोहोर्याउने आशा व्यक्त गरिन्।
सन् २०२४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका वार्नर हाल ‘फक्स स्पोर्ट्स अस्ट्रेलिया’मा कमेन्टेटरका रूपमा कार्यरत छन्।
भदौ ३, २०८३ बुधबार ११:५१:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।