हेटौँडामा खोलाले बगाएर बेपत्तामध्ये अर्की बालिका पनि मृत फेला, एकको खोजी जारी
हेटौँडा : हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकामध्ये एक जनाको शव फेला परेको छ।
मङ्गलबार अपराह्न निर्मल माध्यमिक विद्यालयबाट पढाइ सकेर घर फर्किने क्रममा चार बालिकालाई खोलाले बगाएको थियो। उनीहरूमध्ये एकको सकुशल उद्धार गरिएको थियो भने एक जना मृतावस्थामा फेलापरेकी थिइन्। दुई जना भने बेपत्ता रहेका थिए।
बेपत्ता भएकाहरूको बुधबार बिहानैबाट खोजीका क्रममा बिनिता भ्लोन खोलामा मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
कक्षा ५ मा अध्ययनरत सुमित्रा भ्लोन बेपत्ता छिन्। उनको खोजी जारी छ।
खोलाले बगाएका चार विद्यार्थीमध्ये मङ्गलबार राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेश्मा स्याङ्तान मृतावस्थामा फेलापरेकी थिइन् भने कक्षा ६ मा पढ्ने सीमा भ्लोनलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। उनको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ।
बेपत्ता बालिकाको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी जुटिरहेका छन्।
भदौ ३, २०८३ बुधबार १०:१९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।