संसद् बैठक आज : सञ्चय कोष र बालश्रमसम्बन्धी विधेयक पेस हुँदै, मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ दिने
काठमाडौं : सङ्घीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ।
सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरू पेस गर्नेदेखि नेपाल-भारत विद्युत् व्यापार सम्झौतासम्मका कार्यसूची तय गरिएका छन्।
विहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा मुख्यतया तीनवटा प्रस्ताव पेस हुने सम्भावित कार्यसूची छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दसौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन्।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ‘नेपाल-भारतबीच दीर्घकालीन विद्युत् व्यापार गर्नेसम्बन्धी सम्झौता’ पेस गर्नेछन्।
त्यसैगरी दिउँसो सवा १ बजे बस्ने राष्ट्रियसभाको बैठक विशेषगरी मन्त्रीहरूसँगको प्रश्नोत्तर र विधेयक व्यवस्थापनमा केन्द्रित हुनेछ।
परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित सांसदका लिखित प्रश्नहरूको उत्तर सम्बन्धित मन्त्रीहरूले टेबुल गर्नेछन्।
अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले प्रत्यक्ष जवाफ दिने कार्यक्रम छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पेस गर्नेछन्।
भदौ ३, २०८३ बुधबार ०७:४४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।