आधिकारिकताको विवाद नटुंगिँदै कांग्रेसले अघि बढायो महाधिवेशन प्रक्रिया
काठमाडौं : पार्टी आधिकारिकता विवादसम्बन्धी मुद्दा टुंगो नलाग्दै नेपाली कांग्रेसले १५औँ नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउने भएको छ। यसअघि सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सुनाएको अघिल्लो फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो।
तर, कांग्रेसको केन्द्रीय निर्वाचन समितिले भदौ २४ देखि वडा अधिवेशन सुरु हुने गरी १५औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गर्यो। समितिका संयोजक प्रेमबहादुर खड्काले मंगलबार संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरे।
निर्वाचन समितिका अनुसार भदौ २ देखि १० गतेसम्म निर्वाचन प्रतिनिधि अभिमुखीकरण, भदौ ११ गते जिल्लामा निर्वाचन अधिकृत खटाउने, भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने, भदौ १६ देखि २० गतेसम्म वडामा अभिमुखीकरण तालिम, भदौ मसान्तभित्र बाँकी रहेका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका तोकिएको छ।
भदौ २४ गते छ हजार ७४३ वटै वडामा अधिवेशन, भदौ २७ गते गाउँ/नगरपालिका अधिवेशन, भदौ ३१ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, असोज ३ गते एक मात्र क्षेत्र भएको जिल्ला अधिवेशन, असोज ७ गते जिल्ला अधिवेशन, असोज १० गते प्रदेश अधिवेशन र असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गरिने कार्यतालिका रहेको छ।
निर्वाचन समितिका अनुसार हालसम्म अमेरिका, जापान, फ्रान्स, दक्षिण कोरियालगायत १५ वटा देशका जनसम्पर्क समितिको अधिवेशन सम्पन्न भइसकेका छन्। यसअघि पार्टीको संस्थापन इतर समूहका नेता डा. शशांक कोइरालाले पार्टीको विवादमा अदालतले पुनरावलोकनको अनुमति दिइसकेकोले मुद्दाको अन्तिम किनारा नलागेसम्म १५औँ महाधिवेशन केन्द्रित गतिविधि अघि नबढाउन पत्र पठाएका थिए।
भदौ २, २०८३ मंगलबार २२:३३:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।