‘राइट टु रिकल’ लगायतका विषयमाथि छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक यही भदौ ५ गते बस्ने भएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार शुक्रबार बिहान वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घण्टी घर’ मा बैठक बस्न लागेको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए।
बैठकमा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, २०८३ अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुने कार्यसूची छ।
यस्तै, केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयनसम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुनेछन्। स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने विषय पनि कार्यसूचीमा राखिएको छ।
बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। पार्टीको मुख पत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावसमेत बैठकमा प्रस्तुत हुने जनाइएको छ।
भदौ २, २०८३ मंगलबार २२:०१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।