स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. बस्नेत र स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा पौडेल नियुक्त
काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को अध्यक्षमा डा. सुधा बस्नेत र उपाध्यक्षमा डा. नारायणबहादुर महोत्रा नियुक्त भएका छन्। नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नियुक्त भएका छन्।
नवनियुक्त अध्यक्ष, उपाध्यक्ष तथा परिषद्का सदस्यहरूले मंगलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे।
परिषद्को सदस्यमा गणेश दंगाल, सन्तोषकुमार ठाकुर, सतिसकुमार देव, धर्मागत भट्टराई र रबा थापा नियुक्त भएका हुन्। नवनियुक्त अध्यक्ष डा. सुधा बस्नेत त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पसको बालरोग विभागमा प्राध्यापक तथा विभागीय प्रमुखका रूपमा कार्यरत छन्।
त्यस्तै, नवनियुक्त उपाध्यक्ष डा. नारायणबहादुर महोत्रा त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगन्ज मेडिकल क्याम्पसमा क्लिनिकल फिजियोलोजी विषयका प्राध्यापक तथा विभागीय प्रमुख हुन्।
त्यस्तै, स्वास्थ्य व्यवसायी परिषद्का नवनियुक्त अध्यक्ष पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढीको अनुभव हासिल गरेका छन्। उनले बेलायतको लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन तथा लन्डन स्कुल अफ इकोनोमिक्स बाट स्वास्थ्य नीति, योजना तथा वित्तसम्बन्धी स्नातकोत्तर अध्ययन गरेका हुन्।
भदौ २, २०८३ मंगलबार २०:३७:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।