कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाका भतिज प्रकाशले गुमाए सांसद पद

कांग्रेस पूर्वसभापति शेरबहादुर देउवाका भतिज प्रकाशले गुमाए सांसद पद

सुदूरपश्चिम : हाल अमेरिकामा रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवालाई पदमुक्त गरिएको छ।

सुदूरपश्चिम प्रदेशसभाका सचिव देवबहादुर बोगटीले नेपालको संविधान र प्रदेशसभा नियमावलीको प्रावधानअनुसार लगातार १० भन्दा बढी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण उनलाई पदमुक्त गरिएको जानकारी दिए। 

आजै सभामुख भीमबहादुर भण्डारीले देउवालाई पदमुक्त गर्नेसम्बन्धी निर्णय गरेको उनले बताए। देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ (२) मा नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्।

नेपालको संविधानको धारा १८० को (घ) मा प्रदेशसभा सदस्यको स्थान रिक्त हुनेसम्बन्धी व्यवस्था गरिएको छ। उक्त दफामा सूचना नदिई लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेशसभा सदस्यको पद रिक्त हुने व्यवस्था छ। यस्तै, सुदूरपश्चिम प्रदेशसभा नियमावली, २०८० ले पनि सोहीअनुसार व्यवस्था गरेको छ।

कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाका सहोदर भतिजासमेत रहेका देउवा गत वर्ष भदौ २८ गते जेनजी आन्दोलनलगत्तै व्यक्तिगत कामका लागि भनेर अमेरिका गएका थिए। उनी त्यसयता नेपाल फर्किएका छैनन्। 

भदौ २, २०८३ मंगलबार १९:४६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।