आशिकाले संसदमा बोल्न नपाएको झोक फेसबुकबाट पोखिन्!
काठमाडौं : पराष्ट्रमन्त्री शिशिर खनाललाई थप प्रश्न सोध्न नपाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ मंगलबार प्रतिनिधि सभाबाट बाहिरिइन्। खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै उनले सभामुख डोलप्रसाद अर्यालसँग प्रश्न गर्न समय माग गरेकी थिइन्।
अर्यालले प्रश्नका लागि समय उपलब्ध गराउने प्रावधान नियमावलीले नगरेको जानकारी गराउँदा पनि तामाङले प्रश्न राख्न पाउनुपर्ने अडान दोहोर्याएकी थिइन्। पटक-पटक आसन ग्रहण गर्न आग्रह गर्दासमेत उनले बोल्ने अडान नछाडेपछि संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सभामुख अर्यालले सचेत गराए। त्यसपछि तामाङ संसद् बैठकबाट बाहिरिइन्।
तामाङले संसद्मा उठाएको विषय थियो, कम्बोडियामा मृत्यु भएका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले ढिलाइ गरेको विषय। यही विषयमा बोल्न उनले सोमबारको प्रतिनिधिसभा बैठकमा पनि आकस्मिक समय माग्दै उभिएकी थिइन्।
उनले राख्न खोजेको विषयमा सरकारको ध्यानाकर्षण भएकाले बस्न आग्रह गर्दै सभामुख अर्यालले मर्यादा कायम राख्न भनेका थिए। "माननीय सदस्य आशिका तामाङ यो प्रतिनिधिसभा हो। यहाँको मर्यादा कायम गर्नुस्। मैले माननीय सदस्यलाई समय दिएको छैन, माइक पनि दिएको छैन। त्यस कारण माननीय सदस्यले एकोहोरो बोल्ने होइन," सोमबारको बैठकमा उनले भनेका थिए।
उनीहरुबीच बैठकमा चलेको नोकझोकले सञ्चारमाध्यममा चर्चा पायो। सांसद तामाङले त्यस विषयमा सामाजिक सञ्चालनमार्फत पनि चर्चा गरेकी थिइन्। अर्यालले मर्यादा बस्न भनेको प्रसंगमा उनले ३७ दिनसम्म मैले राखेको धैर्यता र सहनशीलता चाहिँ मर्यादा भित्र पर्दैन र ? भनेर प्रश्न गरेकी थिइन्।
कम्बोडियामा मृत्यु भएका राईको शव नेपाल ल्याउन मन्त्रालयदेखि प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयसम्म चुपचाप धाएको उल्लेख गर्दै तामाङले लेखेकी थिइन्, "मर्यादा भनेको सभामुखज्यूले जे भन्नू हुन्छ, हस् भनेर टाउको हल्लाएर बस्नु मेरो लागि कदापि स्वीकार्य हुने छैन!"
सरकार जनताप्रति जबाफदेही हुनुपर्ने भनेकी उनले मंगलबार पनि सोही विषय संसद्मा उठाइन। प्रश्नोत्तरको क्रममा परराष्ट्रमन्त्री खनालले तामाङले उठाएको विषयमा जबाफ दिएका थिए। अवैधानिक ढंगबाट विदेश गएका नेपालीहरूको उद्धारका लागि पछिल्लो पटक अर्थ मन्त्रालयबाट १५ करोड बजेट पाएको तर रकम खर्च गर्न कार्यविधि निर्माणमा केही समय ढिलाइ भएको बताए।
सरकारसँग सीमित रकम भएकाले विदेशका सेल्टरमा भएका महिलाको उद्धार गर्ने कि शव व्यवस्थापन गर्ने कि कोमामा भएका नेपालीको उपचारमा प्रयोग गर्ने भन्ने जस्ता विषयको प्राथमिकीकरण आवश्यक रहेको उनको भनाइ थियो। तर, उनको जवाफबाट असन्तुष्ट तामाङ बसिरहेको ठाउँबाट उठिन्।
सभामुख अर्याल उनलाई बस्न आग्रह गर्छन्। तामाङ मान्दिनन्। एकछिन सभामुख अर्यालसँग उनको सवाल जवाफ हुन्छ, त्यसपछि अर्यालले भने, "आशिका तामाङलाई सभाको मर्यादामा रहन निर्देशन दिन्छु।" तामाङ रिसाउँदै बैठकबाट बाहिरिइन्।
धादिङ धुनिवेशी-९ का सन्तोष राईको उपचार सिलसिलामा कम्बोडियाको कालमेट अस्पतालमा १४ मे २०२६ मा मृत्यु भएको र हाल उनको शव नोमपेनस्थित 'खमेर सोभियत फ्रेन्डसिप' अस्पतालमा रहेको जानकारी मन्त्री खनालले संसद्लाई गराएका थिए। अस्पतालमा तिर्न बाँकी शुल्क, शव गृहको शुल्क र पार्थिव शरीर नेपाल ल्याउन हवाई भाडासहित करिब ८ हजार डलर खर्च लाग्ने जानकारी बैंककस्थित नेपाली दूतावासबाट आएको उनले बताए।
मन्त्री खनाललाई थप प्रश्न गर्न नपाएकी तामाङले सामाजिक सञ्जालबाट उनको जवाफप्रति आक्रोश व्यक्त गरेकी छन्। उनले भनेकी छन्, "परराष्ट्र मन्त्री रोस्ट्रममा उभिएका छन्, प्रश्नोत्तर गर्न भनेर। बेवारिसे लास ल्याउने विषयमा मन्त्रीले उहीँ आनाकानी जबाफ दिएपछि मैले प्रश्न सोध्न नपाउने यो कस्तो सदन हो ? किन बेवारिसे लासको नाममा छुट्टाएको १५ करोड बजेट ?"
भदौ २, २०८३ मंगलबार १८:५१:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।