ग्यास, मल र पासपोर्टको लाइनलाई लिएर संसदमा प्रश्नै-प्रश्न : रास्वपा सांसदद्वारा सरकारको बचाउ!

ग्यास, मल र पासपोर्टको लाइनलाई लिएर संसदमा प्रश्नै-प्रश्न : रास्वपा सांसदद्वारा सरकारको बचाउ!

काठमाडौं : प्रतिनिधिसभा सदस्यहरूले खाना पकाउने ग्यास, रासायनिक मल, मनसुनजन्य विपद् र जङ्गली जनावरको आतङ्कको व्यवस्थापनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरूले  ग्यास र मल जस्ता अति आवश्यक वस्तुको अभाव सिर्जना भएकोले उक्त विषय समाधानमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद बुद्धरत्न महर्जनले जनतालाई स्वास्थ्य, बाटो, बीउ र रासायनिक मलमा तत्काल सुविधा दिन सरकारसँग माग गरे। सांसद बासना थापाले सामान्य जनतालाई महँगीले छाक टार्न गाह्रो भएको बताइन्।

सांसद बलावती शर्माले वैदेशिक रोजगारीमा जानुभएका नेपाली युवाहरू विदेशमा ठगिने र ज्यान गुमाउनेसम्मको अवस्थाको अन्त्य गर्न माग गरिन्।

सांसद वर्षमान पुनले दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सरकारी सेवाका लागि नागरिकले लामो समय लाइन बस्नुपर्ने अवस्था देखिएको भन्दै सरकारप्रति प्रश्न उठाए।

उनले खाना पकाउने ग्यासको आपूर्ति सहज हुन नसकेको र वर्षको बीचमा समेत उपभोक्ताहरू ग्यासका लागि लाइनमा बस्नुपरेको बताए। त्यस्तै, रासायनिक मल पर्याप्त रूपमा उपलब्ध हुन नसक्दा किसानहरूले पनि लाइन बस्नुपर्ने अवस्था रहेको उनले उल्लेख गरे। 

"खाना पकाउने ग्यासको आपूर्ति भइरहेको छैन। वर्षको बीचमा लाइन बसिरहेका छन् उपभोक्ताहरू। अर्कोतिर मल पर्याप्त उपलब्ध छैन, त्यसमा पनि लाइन नै देखिन्छ। पासपोर्टमा पनि लाइन छ," पुनले भने।

तर, रास्वपाका सांसद भरत पराजुलीले भने देशका लागि काम गर्न खोज्ने व्यक्ति र सरकारको अनावश्यक आलोचना भइरहेको भन्दै त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए। उनले वर्तमान सरकार पनि निरन्तर काम गरिरहेका कारण आलोचनाको सिकार भएको बताए।

उनले प्रधानमन्त्रीले देशको मुहार फेर्ने उद्देश्यसहित अहोरात्र काम गरिरहेको भन्दै काम गर्दा आलोचना हुने प्रवृत्तिप्रति असन्तुष्टि जनाए। पराजुलीले भने,  "हाम्रो देशमा केही गर्छु भन्ने मान्छेको आलोचना हुन्छ। त्यसको सिकार वर्तमान सरकार पनि भएको छ। प्रधानमन्त्रीज्यू देशको मुहार फेर्छु भनेर अहोरात्र खटिराख्नुभएको छ। निरन्तर काम गर्दा उहाँकै आलोचना हुन्छ।"

भदौ २, २०८३ मंगलबार १४:४३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।