ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि संसद्‍मा हङ्गामा, ‘गुण्डाराज’ र ‘तपाईंहरूको प्रहरी’ शब्दमा चर्काचर्की

ज्वाला सङ्ग्रौलाको अभिव्यक्तिपछि संसद्‍मा हङ्गामा, ‘गुण्डाराज’ र ‘तपाईंहरूको प्रहरी’ शब्दमा चर्काचर्की

काठमाडौं : प्रतिनिधि सभाको मंगलबारको बैठकको विशेष समयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद टीका (ज्वाला) सङ्ग्रौला र विपक्षी दल एमालेकी सांसद साजिदा सिद्दीकीबीच चर्काचर्की पर्यो।

विशेष समयमा बोल्दै रास्वपा सांसद टीका (ज्वाला) सङ्ग्रौलाले वर्तमान सरकारले देशलाई भ्रष्टाचार, बेथिति, अनियमितता र गुण्डाराजको क्यान्सरबाट मुक्त गराउने दाबी गरिन्।

उनले विगत ३५ वर्षको कुशासनका कारण नै गत भदौमा जेनजी आन्दोलन भएको र तत्कालीन सरकारले चलाएको गोलीबाट सिंहदरबार अगाडि ढलेका युवाहरूको रगत अझै नसुकेको बताइन्।

उनले चर्चिलको भनाइ उद्धृत गर्दै भनिन्, ‘मानिसहरू सत्यको सामना गर्न नसक्दा परिवर्तनमाथि नै औँला उठाउँछन्। यो सरकारले ३५ वर्षको भ्रष्टाचार र व्यथितिको घाउ निको पार्न चिरफार गरिरहेको छ। चिरफार गर्दा अइया-आत्था भनियो भने घाउमा क्यान्सर हुन्छ। सरकार देशलाई गुण्डाराजको क्यान्सरबाट मुक्त गराउन चाहन्छ।’

सङ्ग्रौलाले ‘गुण्डाराज’ शब्द प्रयोग गरेपछि विपक्षी बेन्चका सांसदहरूले उठेर विरोध जनाए।

एमाले सांसद साजिदा सिद्दीकीले नियमापत्ति र प्रतिवाद गर्दै भनिन्, ‘एकातिर धम्क्याउने, अर्कोतिर मलम लगाउँछु भन्ने? गुण्डाराज कहाँ छ? सरकार तपाईंको छ, गुण्डाराज पनि त्यहीँ छ! प्रतिपक्षले देश र जनताको पक्षमा प्रश्न उठाउँदा गुण्डाराज भन्ने?’

उनले जेनजी आन्दोलनको कुरा गर्ने रास्वपा सरकारले सिरहामा प्रहरीले चलाएको गोलीबारे पनि संसद्‌मा जवाफ दिनुपर्ने माग गरिन्। सांसदको ४-५ मिनेटको वक्तव्य सकिएपछि पुन: स्पष्टीकरण दिन नमिल्ने भन्दै कुन नियम अनुसार समय दिइएको हो भन्दै सभामुखसँग जवाफ मागिन्।

‘रेकर्डबाट हटाउन’सङ्ग्रौलाको पुन: माग
प्रतिपक्षको आपत्तिपछि सांसद सङ्ग्रौलाले पुन: माइक लिएर प्रतिवाद गरिन्।

उनले ‘गुण्डाराज’ शब्दमा आपत्ति भए तत्कालीन सरकारले इन्काउन्टर गरेका गुण्डाहरूको सूची सभामुखसमक्ष पेस गर्न तयार रहेको चेतावनी दिइन्।

एमाले सांसद सिद्दीकीले ‘तपाईंहरूको प्रहरी’ भनी सम्बोधन गरेकोमा कडा आपत्ति जनाउँदै सङ्ग्रौलाले भनिन्, ‘प्रहरी जनताको हुन्छ, कुनै सत्ता वा प्रतिपक्षको चाकडी गर्ने हुँदैन। त्यसैले तपाईंहरूको प्रहरी भन्ने शब्द आज र अहिल्यै संसद्को रेकर्डबाट हटाइओस्।’

रिङ्गला यादवको नियमापत्ति
​​​​​​​सङ्ग्रौलाले दोहोर्याएर बोलेपछि एमाले सांसद रिङ्गला यादवले नियमापत्ति जनाउँदै संसद्को नियमावली र सभामुखको भूमिकामाथि प्रश्न उठाइन्।

सांसद यादवले भनिन्, ‘माननीयज्यूले गुण्डा र अराजक शब्द प्रयोग गर्नुभयो। उहाँहरूले कतिको अराजकता र कति सभ्य भाषा बोल्नुभएको छ, त्यो प्रमाणका साथ देखाउन तयार छौँ। तर एउटा माननीयले आफ्नो ५ मिनेटको वक्तव्य बोलिसकेपछि पुन: नियमापत्ति भन्दै स्पष्टीकरण दिन कुन नियममा मिल्छ? कुन नियममा स्पष्टीकरण दिन पाइन्छ, त्यसको जानकारी सभामुख महोदयले गराइदिनुपर्छ।’

​​​​​​​उनले वर्तमान सरकारले कति गुण्डा पालेको छ भन्ने कुरा आफूहरू प्रमाणसहित देखाउन तयार रहेको समेत चेतावनी दिइन्।

तनावपूर्ण स्थितिपछि सभामुखले बैठकलाई नियन्त्रणमा लिँदै सांसदहरूलाई नियम अनुसार १ मिनेटभित्र संक्षिप्त धारणा राख्न निर्देशन दिएका थिए।

भदौ २, २०८३ मंगलबार १४:०४:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।