फुङलिङका मेयरको स्वकीयमाथि ‘नाबालिग’ मुद्दा : सरकारी बाइकमा कन्याम घुमघाम, काठमाडौं ल्याएर पाँच दिनसम्म बलात्कार

फुङलिङका मेयरको स्वकीयमाथि ‘नाबालिग’ मुद्दा : सरकारी बाइकमा कन्याम घुमघाम, काठमाडौं ल्याएर पाँच दिनसम्म बलात्कार

काठमाडौं : ताप्लेजुङको फुङलिङ नगरपालिकाका प्रमुख (मेयर) अमिर मादेनका स्वकीय सचिव अञ्चल गुरुङले एक १७ वर्षीया नाबालिगलाई घुमाउने बहानामा काठमाडौं ल्याएर पटक-पटक बलात्कार गरेको खुल्न आएको छ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले ४० वर्षीय गुरुङविरुद्ध १० देखि १२ वर्षसम्म कैद र ५ लाख रुपैयाँ जरिवानाको मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गरेपछि यो गम्भीर घटनाको विस्तृत विवरण बाहिरिएको हो।

नगरपालिकाको वेबसाइटमा उनको पद अहिले पनि स्वकीय सचिव भनेर नै छ भने नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले गुरुङ नगरप्रमुख मादेनको स्वकीय सचिव रहेको पुष्टि गरे।

उनले भने, ‘अञ्चलजी नगरप्रमुखज्यूको स्वकीय सचिव हुनुहुन्थ्यो। अहिले मुद्दा लागेको भन्ने सुनेको छु। बाँकी थाहा छैन।’

सरकारी बाइकमा घुमघाम र काठमाडौं यात्रा
अभियोग पत्रमा उल्लेख भएअनुसार, फुङलिङ नगरपालिका-५ का बासिन्दा गुरुङले ती किशोरीलाई पहिलेदेखि नै चिनेका थिए। असार ३० गते उनले किशोरीलाई आफू काठमाडौं जान लागेको भन्दै सँगै घुम्न जान फकाएका थिए।

भोलिपल्ट, अर्थात् असार ३१ गते दिउँसो करिब ४ बजे गुरुङले नगरपालिकाको कार्यालय प्रयोजनका लागि पाएको ‘प्रदेश १-०२-००१ ब ३९७१’ नम्बरको सरकारी मोटरसाइकलमा किशोरीलाई राखेर ताप्लेजुङबाट यात्रा सुरू गरे।

उनले किशोरीलाई पाँचथरको पौवा र इलामको कन्याम हुँदै साउन १ गते बेलुका झापाको बिर्तामोड पुर्याए। बिर्तामोडमा मोटरसाइकल राखेर सोही रातिको बसमा किशोरीलाई लिएर उनी काठमाडौंतर्फ लागेको अभियोगपत्रमा उल्लेख छ।

लाजिम्पाटको ‘होटल ले हिमालय’मा ५ दिनसम्म यौन शोषण
साउन २ गते बिहान पौने १२ बजेतिर उनीहरू काठमाडौंको लाजिम्पाटस्थित ‘होटल ले हिमालय’ पुगे। गुरुङले त्यहाँको चौथो तलामा रहेको कोठा नम्बर ४५४ बुक गरे।

सुरुमा छुट्टाछुट्टै कोठा लिने वा एउटै कोठामा छुट्टाछुट्टै ओछ्यानमा सुत्ने सहमति भएको किशोरीले बयानमा बताएकी छन्। तर, साउन २ गते राति करिब १०:४० बजेतिर गुरुङले किशोरी सुतेको ओछ्यानमा गएर जबर्जस्ती गर्न खोजे।

किशोरीले प्रतिवाद गर्दै भाग्न खोज्दा र कराउन खोज्दा गुरुङले ‘बढी कराइस् भने तेरो ज्यान जान पनि सक्छ’ भन्दै ज्यान मार्ने धम्की दिएर पहिलोपटक बलात्कार गरेको अभियोग पत्रमा उल्लेख छ।

त्यसपछिका दिनमा किशोरीले घर फर्कन खोज्दा गुरुङले ‘गाउँघरमा तेरो बेइज्जत गरिदिन्छु’ भन्ने धम्की दिँदै साउन ५ गते राति ११ बजेसम्म सोही कोठामा बन्धक बनाएर पटक-पटक जबर्जस्ती करणी गरेको पीडितको भनाइ छ।

माइती नेपालको सुराकी र नागढुंगामा उद्धार
साउन ६ गते दिउँसो ३:५१ बजे गुरुङले होटलबाट चेकआउट गरे। किशोरीलाई घर फर्काउन भन्दै उनी नागढुंगा हुँदै काँकडभिट्टा जाने बसमा चढे। तर, बसमा उनीहरू छुट्टाछुट्टै सिटमा बसेका थिए।

साउन ६ गते बेलुका करिब ६ बजे नागढुंगा चेकपोस्टमा गाडीहरू चेकजाँच गर्ने क्रममा माइती नेपालका कर्मचारीको नजर ती किशोरीमा पर्यो।

एक्लै मलिन अनुहारमा बसेकी नाबालिगलाई देखेर शंका लागी सोधपुछ गर्दा किशोरीले आफूलाई अञ्चल गुरुङले ललाईफकाई ल्याएको र बलात्कार गरेको सम्पूर्ण वृत्तान्त खुलाइन्। माइती नेपालकै टिकट जाँच गर्दा गुरुङकै नाममा दुईवटा टिकट काटिएको भेटिएपछि उनलाई तत्काल बसबाट झारी प्रहरीको जिम्मा लगाइएको थियो।

प्रहरीसँगको बयानमा गुरुङले आफूले किशोरीलाई काठमाडौं ल्याएको, घुमाएको र एउटै कोठामा राखेको स्वीकार गरेका छन्। तर, उनले कोठामा दुईवटा ओछ्यान भएको र आफूहरू छुट्टाछुट्टै सुतेको दाबी गर्दै बलात्कारको आरोप अस्वीकार गरेका छन्।

यद्यपि, प्रहरी अनुसन्धान र अदालतमा पेस गरिएका प्रमाणले उनको दाबी खण्डन गरेका छन्। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (थापाथली) मा गरिएको स्वास्थ्य परीक्षणमा किशोरीको ‘हाइमेन टियर’ भएको पुष्टि भएको अभियोगपत्रमा दाबी गरिएको छ।

साथै, होटलका हेडसेफ र फ्रन्ट डेस्कका कर्मचारीले उनीहरू साउन २ गतेदेखि ६ गतेसम्म सँगै एउटै कोठामा बसेको बयान दिएका छन् भने सिसिटिभी फुटेजले पनि त्यसलाई पुष्टि गरेको अभियोग पत्रमा उल्लेख छ।

कस्तो छ कानुनी मागदाबी ?
किशोरीको उमेर १७ वर्ष ९ महिना रहेको जन्मदर्ता प्रमाणका आधारमा सरकारी वकिलले गुरुङविरुद्ध ‘मुलुकी अपराध संहिता, २०७४’ को दफा २१९ (१) र (२) बमोजिम जबर्जस्ती करणीको कसुरमा मुद्दा चलाएको छ।

१६ देखि १८ वर्ष उमेर समूहकी नाबालिगलाई करणी गरेको अभियोगमा दफा २१९ को उपदफा (३) को (घ) बमोजिम १० देखि १२ वर्षसम्म कैद र उपदफा (३क) बमोजिम ५ लाख रुपैयाँ जरिवानाको माग गरिएको छ। यसका अतिरिक्त, दफा २२८ बमोजिम गुरुङबाटै पीडित किशोरीलाई मनासिब क्षतिपूर्ति भराउनसमेत अदालतसमक्ष मागदाबी गरिएको छ।

हाल प्रहरी हिरासतमा रहेका गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दाको थप प्रक्रिया अगाडि बढेको छ।

भदौ २, २०८३ मंगलबार १०:०३:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।