प्रतिनिधिसभा बैठक आज बस्दै : चार मन्त्रीले जवाफ दिने, दुई विधेयकमाथि छलफल

प्रतिनिधिसभा बैठक आज बस्दै : चार मन्त्रीले जवाफ दिने, दुई विधेयकमाथि छलफल

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। आजको बैठकमा चारवटा मन्त्रालयसँग सम्बन्धित सांसदहरूका मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची छ।

संसद् सचिवालयका अनुसार परराष्ट्र; ऊर्जा, जलस्रोत तथा सिँचाइ; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृषि, वन तथा पर्यावरण मन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिइनेछ।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले 'थारु आयोगको सातौँ वार्षिक प्रतिवेदन' पेस गर्नेछिन्।

साथै, मन्त्री गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव र 'सामुद्रिक जैविक विविधता संरक्षणसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्झौता'समेत सदनमा पेस गर्ने कार्यसूची छ।

यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

आजै संसद्‌का विभिन्न पाँचवटा विषयगत समितिका बैठक पनि बस्दैछन्।

जसअनुसार कृषि तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, विधायन व्यवस्थापन, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन र सङ्घीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्ने तय भएको छ।

भदौ २, २०८३ मंगलबार ०७:०६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।