धनाढ्य सांसदहरूले घर मर्मतमा लिने नौ हजारबारे संसद सचिवालयले भन्यो- ‘कानुन अनुसारै हो’

धनाढ्य सांसदहरूले घर मर्मतमा लिने नौ हजारबारे संसद सचिवालयले भन्यो- ‘कानुन अनुसारै हो’

काठमाडौं : संघीय संसद् सचिवालयले सांसद र पदाधिकारीहरूले प्राप्त गर्ने सुविधा कानुन बमोजिम रहेको भन्दै विज्ञप्ति निकालेको छ।

काठमाडौंमा घर हुने प्रतिनिधि सभा र राष्ट्रिय सभाका १०४ जना सांसदहरूले घर मर्मत/सम्भार शीर्षकमा मासिक नौ हजार रकम लिइरहेकोबारे उकेराले प्रमाणसहित समाचार प्रकाशित गरेको थियो।

सो समाचारमा कानुनी नभई नैतिक प्रश्न उठाइएको थियो।

सोमबार संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले विज्ञप्ति निकाल्दै त्यसमा उपत्यकामा घर नहुने सांसदहरूको हकमा मासिक १८ हजार र घर हुने हरुको हकमा त्यसको आधा अर्थात् मासिक नौ हजार रुपैयाँ दिने कानुनी व्यवस्था रहेको उल्लेख छ।

काठमाडौंमा घर रहेका उद्योगी विदुषी राणादेखि रास्वपा सभापति रवि लामिछानेसहित एक सय ४ सांसदले त्यही कानुनको प्रबन्धमा बसेर घर मर्मत शीर्षकमा हरेक महिना नागरिकले तिरेको करबाट मासिक नौ हजार लिने गरेका छन्।

काठमाडौंमा घर हुने रविसहित १०४ सांसदले लिइरहेका छन् मासिक ९ हजार मर्मत रकम, वार्षिक १ करोड १२ लाख खर्च

यसरी घरभाडा लिनेहरूमा नेपाली कांग्रेस, एमाले र राप्रपाका नेताहरू समेत रहेका छन्। अन्य विषयमा पुराना दल भन्दै आलोचना गर्ने गरे पनि आफूले सुविधा पाउने विषयमा भने रास्वपाका सांसदहरू मौन रहने गरेका छन्।

पुराना दलका सांसदहरूले नियमावलीमा राखेको घर भाडाको विषयमा पनि उनीहरू मौन छन् भने घर मर्मत शीर्षकमा मासिक नौ हजार लिने काठमाडौंमा घर भएका सांसदहरूको सूचीमा सबैभन्दा धेरै रास्वपाकै नेताहरू रहेका छन्।

भदौ १, २०८३ सोमबार २१:३९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।