देउवा-गगन दूरी घटाउन शशांकको कार्ड : 'गगन सभापति, नेताहरूलाई सम्मानजनक पद!'
काठमाडौं : विशेष महाधिवेशनले उत्पन्न पार्टीको विवादमा समाधान खोज्ने नेताको रूपमा नेपाली कांग्रेस 'संस्थापन इतर' पक्षको भेलाले डा. शशांक कोइरालालाई अगाडि सार्यो।
पूर्व सभापति शेरबहादुर देउवा पक्षले यसअघि राष्ट्रिय भेला आयोजक समितिको संयोजकको जिम्मेवारी दिएर नेताका रूपमा अघि सारेका कोइरालालाई नै उक्त भेलाले पन्ध्रौँ महाधिवेशनसँग सम्बन्धित क्रियाकलाप अघि बढाउने जिम्मेवारी समेत दियो।
शुक्रबार राष्ट्रिय भेलाको ब्यानरमा सुरु भई सम्मेलनमा परिणत भएको सम्मेलनले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अस्वीकार गर्यो। कोइरालाले उक्त सम्मेलनमा पार्टीलाई एकताबद्ध बनाउनु नै भलाको उद्देश्य रहेको भनेका थिए। त्यसको लागि आफूले पहल गर्ने प्रतिबद्धता गरे।
तर, सम्मेलनमा आफ्नो धारणा राख्ने क्रममा अधिकांश नेताहरूले विशेष महाधिवेशनलाई अस्वीकार गरे। सम्मेलनमा प्रस्तुत भएका प्रस्तावहरूमा पनि विशेष महाधिवेशनलाई 'तथाकथित'को संज्ञा दिइयो। विशेष महाधिवेशनलाई स्वीकार्य नगरेसम्म पार्टी एकताबद्ध कसरी हुन्छ भन्ने प्रश्न उठेको छ।
तर, समूहका नेताहरूले एक अर्काको निन्दा गरिरहँदा र एकताका गतिविधि ठप्प रहेको अवस्थामा कोइरालाले भने सभापति गगन थापा र पूर्व सभापति देउवाबीचको दूरी घटाउन आफू प्रयत्न गर्ने प्रतिबद्धता दोहोर्याएका छन्। उनले भनेका छन्, "मैले प्रयत्न गर्नेछु। गगन कुमार थापा र शेरबहादुरजीको बीचको जुन दूरी छ, त्यसलाई घटाउन। दुई जनाको बीचमा संवाद हुन, ताकि अगाडि बढोस्।"
तर, पार्टीका नेताहरुबीच भइरहेको आरोप प्रत्यारोपका विषयमा भने उनी असन्तुष्ट छन्। एक अर्कालाई गालीगलौज गरेर एकताको माहोल नबन्ने भएकोले त्यस्तो गर्न उनको आग्रह छ। कांग्रेसमा एक अर्काप्रति सम्मानपूर्वक असहमति राख्ने परम्परा रहेको औँल्याउँदै उनले अहिले नेताहरूमा उक्त संस्कार नदेखिएको बताए।
कोइरालाले भनेका छन्, "धेरै गिर्या छ, यो त मनुष्य भन्नु पनि मलाई लाज लाग्छ, यस्ता मान्छेहरू। यस्तो तल्लो लेभलमा गिरेर गालीगलौज गर्नु भनेको यो शोभा दिँदैन हामीलाई। किनभने भन्या पनि छौं, धेरै चोटि मैले त भन्या छु। मान्दै मान्दैनन्, के गर्ने? बस।"
सम्मेलनकै क्रममा उनले आफू नयाँ पार्टी खोल्ने पक्षमा रहेको प्रस्ट्याएका थिए। पार्टी एकताबद्ध बनाउनु आफ्नो जोड रहेन उनले दोहोर्याए। सोमबार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कोइरालाले भने, "मैले त धेरै चोटि भेटिसक्या छु। प्रयत्न पनि गर्या छु, भन्या पनि छु। उनी मलाई भेट्न आउनुभयो। उहाँको एउटै उद्देश्य थियो कि शशांकलाई हामी आफ्नोतिर तानौं भनेर। म त्यो चाहिँ जाने कुरै आएन। त्यो बुझिसकेपछि भनेँ, हेर्नुस् मलाई तानेर हुँदैन, म जाँदै जान्न। मलाई तान्नु छ भने सबैलाई तान्नुपर्यो।"
गगन थापालाई सभापति मान्न तयार रहेको भन्दै उनले आफू पक्षका नेताहरूलाई पार्टीमा जिम्मेवारी दिनुपर्ने बताए। कोइरालाले भने, "पद चाहियो। अब त्यो मिल्न सक्छ, ठिक हो। पदको नभएको भए यत्रो लडाइँ किन हुन्थ्यो?"
भदौ १, २०८३ सोमबार १८:२७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।