चितवन निकुञ्जलाई व्यवस्थापनमा समस्या भएपछि पर्सा पठाइयो बाघ
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा नियन्त्रणमा लिएका समस्या ग्रस्त बाघ राख्ने खोरको अभाव भएपछि आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको छ।
यहाँ राख्ने खोरको अभावका कारण पर्सा पठाइएको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए। शुक्रबार राप्ती नगरपालिका-१ मा देखिएको अन्दाजी चार वर्षको भाले बाघलाई आइतबार बिहान डार्ट गरेर नियन्त्रणमा लिइएको थियो।
उनका अनुसार अहिले निकुञ्जले समस्या ग्रस्त बाघहरू नियन्त्रणमा लिएर खोरमा राख्ने गरिन्छ। हाल निकुञ्जका खोरमा सात वटा बाघ छन्।
अहिले निकुञ्जको मुख्यालय कसरामा तीन वटा, देवनगरमा दुई वटा र सौराहामा दुई वटा बाघ राखिएको छ। निकुञ्जका खोरमा रहेका बाघमा पाँच वटा भाले र दुई वटा पोथी छन्।
निकुञ्जमा खोरको अभावले समस्या ग्रस्त बाघ व्यवस्थापनमा चुनौती थपिएको उनले बताए। निकुञ्जको खोरमा रहेका बाघमध्ये एउटा बाँकेबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रबाट समस्या ग्रस्त भएपछि नियन्त्रणमा लिइएको थियो। पछिल्लो गणनाअनुसार यस निकुञ्जमा १४५ वटा बाघ छन्। यो निकुञ्ज सबैभन्दा धेरै बाघ भएको निकुञ्ज हो।
निकुञ्जको वरिपरि बस्ती भएकाले जुनसुकै बेला थप बाघ नियन्त्रणमा लिनुपर्ने अवस्था आएमा ठाउँको अभाव हुने उनले बताए। चितवन राष्ट्रिय निकुञ्जभित्रका खोरमा बाघ थपिँदा आहारा पुर्याउनसमेत कठिन बनेको छ।
भदौ १, २०८३ सोमबार १७:३९:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।