बागमतीका मुख्यमन्त्री बानियाँले दिए पदबाट राजीनामा, भने : 'साथ दिनेहरूले नै छोडेपछि कुर्सीमा बस्नु उपयुक्त ठानिन'
काठमाडौं : प्रदेशसभामा विश्वासको मतका लागि बहुमत नपुग्ने निश्चित भएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएका छन्।
सोमबार प्रदेशसभालाई सम्बोधन गर्दै बानियाँले विश्वासको मत विभाजन हुनुअगावै पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गरेका हुन्। प्रदेशसभामा राजीनामाको घोषणा गरे लगत्तै उनले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष आफ्नो लिखित राजीनामा बुझाए।
गत साउन ६ गते सत्ता साझेदार दल एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँ अल्पमतमा परेको थिए। संवैधानिक व्यवस्थाअनुसार समर्थन फिर्ता लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुरूप उनले सोमबार प्रदेशसभामा प्रस्ताव पेस गरेका थिए।
सरकार सञ्चालनमा सहकार्य गरेको दलले बीच बाटोमै साथ छोड्दा आगामी यात्रा कठिन बनेपछि राजीनामा दिएको उनको भनाइ छ। उनले भने, "आफूलाई सँगै हिँड्छु भन्नेले छोडेर गइसकेपछि मुख्यमन्त्रीको कुर्सीमा बसिरहनु मैले त्यति उपयुक्त लागेन। त्यसकारणले मैले मार्ग प्रशस्त गर्नुपर्छ। यो लोकतान्त्रिक चरित्र हो।"
मुख्यमन्त्रीले आफू पदमा रहिरहनु भन्दा नयाँ सरकार गठनका लागि बाटो खोलिदिनु उपयुक्त ठानेर राजीनामाको निर्णय लिएको भन्दै बानियाँले भने, "छोड्नेहरूलाई नै जोड्ने अवसर दिँदै म राजीनामा घोषणा गर्दछु।"
१०४ सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनको लागि कम्तीमा ५३ सांसदको समर्थन आवश्यक पर्छ। बानियाँसँग उनको दल नेपाली कांग्रेसका ३६ र हाम्रो नेपाली पार्टीका २ गरी जम्मा ३८ सांसद मात्र देखिएका थिए।
सरकार जोगाउन आवश्यक थप १५ सांसद जुटाउन उनले राप्रपा र नेमकिपा लगायतका दलहरूसँग आग्रह गरे पनि सफल हुन सकेनन्। सोमबार बिहानै राप्रपाले तटस्थ बस्ने निर्णय गरेपछि बानियाँको पक्षमा बहुमत नपुग्ने निश्चित भएको थियो।
मुख्यमन्त्रीको राजीनामासँगै अब बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ। नेपाली कम्युनिष्ट पार्टी र एमालेबीच सरकार गठनको लागि भएको सहमति अनुसार यहाँ एमाले आफ्नो नेतृत्वमा सरकार गठनको पहल गर्नेछ। तर, सरकार गठनको लागि एमाले र नेकपासँग आवश्यक संख्या अपुग हुने भएकोले साना दलको समर्थ आवश्यक पर्छ।
बागमती प्रदेशसभामा हाल कांग्रेसका ३६, नेकपाका २६, एमालेका २५, राप्रपाका १२, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद रहेका छन्।
भदौ १, २०८३ सोमबार १५:२९:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।