मुख्यमन्त्री आचार्यले मागे विश्वासको मत, लुम्बिनीबाट नयाँ राजनीतिक सन्देश दिन आग्रह
बुटवल : नेपाली कम्युनिष्ट पार्टी र एमालेबीच प्रदेश सभामा सहकार्य गर्दै सरकार बनाउने केन्द्रमा समझदारी बनेपछि नेपाली कांग्रेसले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार प्रदेश सभाबाट विश्वासको मत मागेका छन्।
सोमबार बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै आचार्यले प्रदेशको समग्र विकास, समृद्धि र राजनीतिक स्थायित्वका लागि सबै दल एक ठाउँमा उभिनुपर्ने बताए।
कांग्रेससँगको सहकार्यमा दुई वर्ष पाँच दिन सरकार सञ्चालन गरेको उल्लेख गर्दै उनले लुम्बिनीको उन्नती र समृद्धिका लागि एउटै सोच र उद्देश्यका साथ अघि बढेको बताए। कांग्रेसले साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संयुक्त सरकारलाई निरन्तरता दिने विषयमा विभिन्न प्रयास गरिएको उनले जानकारी दिए।
"लुम्बिनी प्रदेशको विकासका लागि फराकिलो छाती बनाएर अघि बढ्ने प्रयास गरेका छौं", उनले भने। आचार्यले विश्वासको मतका लागि सत्तापक्षसँगै प्रतिपक्षमा रहेका दलका सांसदहरूसँग समेत मत मागे।
मत दिएर पनि विपक्षी बेञ्चमा बसेर संसदीय परम्परा कायम गर्न सकिने उल्लेख गर्दै उनले राजनीतिक आग्रह र पूर्वाग्रहभन्दा माथि उठेर प्रदेशको हितमा निर्णय गर्न आग्रह गरे।
उनले लुम्बिनी प्रदेशबाट राजनीतिक सहकार्य र सकारात्मक सन्देश दिन सबै दललाई आग्रह गरे। प्रदेशको विकास, स्थायित्व र समृद्धिका लागि विश्वासको मत दिन अपिल गर्दै मुख्यमन्त्री आचार्यले सबै राजनीतिक दललाई फराकिलो सोचका साथ अघि बढ्न आग्रह गरे।
"लुम्बिनीबाट नयाँ सन्देश दिनुपर्छ। विकास र समृद्धिका लागि हामी सबै एक ठाउँमा उभिनुपर्छ", उनले भने। बैठकमा आचार्यले रोल्पामा साउन २७ देखि ३१ गतेसम्म भएको अविरल वर्षाका कारण पहिरोमा पुरिएर ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गरे।
रोल्पा जिल्ला शोकमा रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले पीडित परिवारलाई राहत र पुनर्स्थापनामा कुनै कमी हुन नदिएको बताए।
उनले नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता जोखबहादुर महरा र एमाले प्रमुख सचेतक यमुना रोका तामाङलगायत जनप्रतिनिधि घटनास्थलमा पुगेर उद्धार तथा राहतमा सक्रिय भएको जानकारी दिए।
अवरुद्ध सडक सञ्चालन गर्ने, पुल तथा अन्य पूर्वाधारको संरक्षण गर्ने र प्रभावित क्षेत्रको पुनर्स्थापनाको काम अघि बढिरहेको उनले बताए।
भदौ १, २०८३ सोमबार १४:५४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।