प्रधानमन्त्रीको विवादित अभिव्यक्तिको साढे दुई महिनापछि सभामुखको रुलिङ, हट्यो प्रतिनिधि सभाको अवरोध
काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई रुलिङ गरेका छन्।
प्रधानमन्त्री शाहको विवादास्पद अभिव्यक्तिका विषयमा जवाफ माग गर्दै विपक्षी दलहरूले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको सन्दर्भमा सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा यस्तो निर्देशन दिएका हुन्।
प्रतिनिधि सभा नियमावली, २०८३ को व्यवस्था उद्धृत गर्दै सभामुख अर्यालले संसद्को आगामी बैठकमा उपस्थित भई सांसदहरूका प्रश्नको जवाफ दिन प्रधानमन्त्रीलाई निर्देशन दिए।
बैठकमा सभामुख अर्यालले भने, ‘माननीय सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ५६ बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनुभएको विरोधप्रति मेरो ध्यानाकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम ५६, ५७, ५८, ५९ र ६० बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।’
गत जेठ १७ गते प्रतिनिधि सभा बैठकमा हठात् उपस्थित भएका प्रधानमन्त्री बालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने विवादित अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्ति राष्ट्रिय हित र भौगोलिक अखण्डताविरुद्ध रहेको भन्दै प्रमुख विपक्षी दलहरूले चर्को आपत्ति जनाएका थिए।
उक्त अभिव्यक्तिपछि विपक्षी दलहरूले संसद् बैठकको सुरुमै विरोध जनाउँदै प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने माग निरन्तर राख्दै आएका थिए। विपक्षीको अवरोधका कारण संसद्मा नियमित कार्यसूचीसमेत प्रभावित हुँदै आएको थियो।
प्रतिनिधि सभा नियमावलीअनुसार महिनाको एक पटक प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ। तर, प्रधानमन्त्री शाहले अहिलेसम्म नियमावलीअनुसारको प्रश्नोत्तर कार्यक्रममा सहभागिता जनाएका छैनन्।
विपक्षी दलहरूले सभामुखसँग पटक-पटक रुलिङको माग गर्दै आए पनि यसअघि सभामुखले रुलिङ गरेका थिएनन्।
यसबीचमा सहमति जुटाउन सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग पटक-पटक भेटवार्तासमेत गरेका थिए। अन्ततः विवाद भएको साढे दुई महिनापछि सभामुखले सोमबार औपचारिक रुलिङ गरेका हुन्।
सभामुखले नियमावलीका दफाहरू उल्लेख गर्दै प्रधानमन्त्रीलाई जवाफ दिन संसद्मा आउन निर्देशन दिएपछि विपक्षी दलका सांसदहरूले विरोध स्थगित गरेका थिए।
सभामुखको रुलिङपछि विपक्षी सांसदहरू आ-आफ्नो सिटमा बसेपछि प्रतिनिधि सभाको नियमित कार्यसूची अगाडि बढेको हो।
भदौ १, २०८३ सोमबार १३:४३:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।