संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं : संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दैछ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयक प्रस्तुत हुने तथा त्यसमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार, बैठकमा सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
त्यसैगरी, महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री बादीले नै ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने अर्को प्रस्ताव पनि बैठकमा पेस गर्नेछन्।
यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
उता, राष्ट्रियसभाको बैठक पनि आजै दिउँसो १ः१५ बजे संसद् भवनमै बस्दैछ।
आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
भदौ १, २०८३ सोमबार ०७:१९:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।