आज श्रावण शुक्ल पञ्चमी, विधिपूर्वक नागको पूजा आराधना गरी नागपञ्चमी मनाइँदै
काठमाडौं : वैदिक सनातन परम्पराअनुसार आज घरको मूल ढोकामा विधिपूर्वक नागको चित्र टाँसी पूजाअर्चना गरेर नागपञ्चमी पर्व मनाइँदैछ।
हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने यो पर्व यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन पर्न गएको हो।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा. डा. देवमणि भट्टराईका अनुसार, घरमा नागको चित्र टाँस्दा वर्षभरि सर्प, बिच्छीलगायतका विषालु जीवले दुःख नदिने र अग्नि, मेघ एवं चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास छ।
नाग पूजाको प्रचलन वैदिक कालदेखि नै सुरु भएको हो। वैदिक मान्यतामा नागलाई सर्पको राजा मानिन्छ।
नाग रिसाएमा पानीको अभाव हुने जनविश्वास रहेकाले उनीहरूलाई खुसी पार्न पूजा गर्ने परम्परा बसेको हो। वराहपुराणमा उल्लेख भएअनुसार, श्रावण शुक्ल पञ्चमीका दिन नागराज र ब्रह्माबीच संवाद भएकाले पनि यस दिनलाई नागपूजाको विशेष दिनका रूपमा लिइन्छ।
प्रत्येक घरको जगमुनि नागको बास हुने र उनीहरू रिसाए घरको जग नै भत्कने धार्मिक मान्यता रहेकाले नागलाई खुसी पार्न यो पूजा गरिँदै आइएको हो।
हिन्दू धर्मशास्त्रहरूमा नागलाई भगवान् विष्णु र शिवका रूपमा पुजिन्छ। शिवले नागको माला लगाउने र विष्णुले जलमाथि शेषनागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै देवलाई नागकै रूपमा मान्ने गरिएको छ।
यसबाहेक, प्रथम पूज्य देव श्री गणेशको एक हातमा नाग रहेको छ भने रामका भाइ लक्ष्मण र कृष्णका दाजु बलरामलाई शेषनागकै अवतार मानिन्छ।
यसैगरी, श्रीकृष्णले बाल्यकालमै कालीनागको दमन गरेको प्रसङ्ग विभिन्न पुराणमा पाइन्छ। विष्णुको नवौँ अवतार मानिने भगवान् बुद्धको मूर्तिको शिरमा पनि मुकुटाकार सर्पको आकृति हुन्छ।
मत्स्येन्द्रनाथको घाँटीमा कर्कोटक नागको माला, जैन तीर्थङ्करको शिरमा सर्पाकार मुकुट हुनुका साथै पाण्डुपुत्र अर्जुन र चन्द्रगुप्त द्वितीयले नागकन्यासँग विवाह गरेका प्रसङ्गहरूले धर्मशास्त्रमा नागको महिमा झल्काउँछन्। जुन घरमा नागको पूजा हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने सनातन मान्यता हाम्रो समाजमा छ।
नागपञ्चमीको आरम्भका विषयमा विभिन्न किंवदन्ती प्रचलित छन्। तीमध्ये एक प्रख्यात कथाअनुसार- एक किसानले खेत खन्ने क्रममा नागका तीनवटा बच्चा भेट्टाएर मारिदिए।
आहारा खोजेर फर्किएकी नागिनीले आफ्ना बच्चा मृत देखेपछि क्रुद्ध भई किसानका साथै उनकी श्रीमती र दुई छोरालाई पनि डसेर मारिदिइन्।
संयोगवश घरबाहिर रहेकी किसानकी छोरीलाई पनि मार्न भनी हिँडेकी नागिनीलाई ती कन्याले अनुनय-विनय गर्दै पूजाआजा गरिन् र कचौरामा दूध खान दिइन्। उनको शोडषोपचार पूजा र प्रार्थनाबाट प्रसन्न भएकी नागिनीले ‘वर माग’ भन्दा कन्याले आफ्ना मातापिता र भाइहरूको जीवनदान मागिन्।
नागिनीले ‘तथास्तु’ भन्दै किसान परिवारलाई बचाइदिइन्। नागिनीले यसरी किसान परिवारलाई जीवनदान दिएको दिन श्रावण शुक्ल पञ्चमी परेकाले त्यही समयदेखि नागपूजा गरी घरमा चित्र टाँस्ने परम्परा बसेको विश्वास गरिन्छ।
त्यस्तै, गुरु गोरखनाथले नौ नागको आसनमा बसी बाह्र वर्षसम्म तपस्या गर्दा पानी नपरेको र गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई नेपाल ल्याएपछि गुरुको सम्मानमा उनी उठ्दा नागहरू मुक्त भई पानी बर्साएको प्रसङ्ग पनि निकै चर्चित छ।
संसारकै सबैभन्दा मूल्यवान् मणि नागले नै शिरमा धारण गर्ने मान्यता छ । श्रीखण्डको सुगन्ध र सङ्गीत नागलाई विशेष मन पर्छ। गर्मीमा दुलोभित्र बस्ने नाग श्रावण शुक्ल पञ्चमीका दिन वर्षात्को शीतलताका कारण बाहिर निस्कने विश्वास पनि गरिन्छ।
शास्त्रमा नागका बाह्र नाम उल्लेख भए पनि अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शङ्ख गरी आठ कूलका नागको पूजा गर्ने सनातन परम्परा छ।
आजको दिन ब्राह्मण पुरोहितद्वारा यी अष्टनागको पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । यस दिन खेतबारीमा खनजोत नगर्ने र नाग, सर्पलगायतका घिस्रने जनावरलाई मार्न नहुने मान्यता छ।
आज काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरीलगायत देशभरका नागदह, कुण्ड र नागस्थानहरूमा विशेष मेला लाग्ने गर्छ। त्यहाँ नागको सम्मानमा गाईको दूध, अक्षता, दुबो, खीर र रोटीलगायतका परिकार चढाइन्छ।
वैज्ञानिक दृष्टिकोणले पनि प्रकृतिमा रहेका विषालु पदार्थलाई नाग र सर्पलगायतका जीवले सोसेर पारिस्थितिक प्रणाली (इकोसिस्टम) सन्तुलनमा राख्ने हुँदा प्राचीन कालमै ऋषिमुनिहरूले यो जातिको संरक्षणका लागि पूजा गर्ने रीत बसालेको मानिन्छ । नागपञ्चमीलाई हिन्दू धर्मावलम्बीहरूको चाडपर्वको याम सुरु भएको सङ्केतका रूपमा पनि लिइन्छ।
भदौ १, २०८३ सोमबार ०७:०६:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।