विवाहको प्रलोभन र ‘इन्गेजमेन्ट’पछि बलात्कारको आरोपमा सेनाका जवानविरुद्ध मुद्दा

विवाहको प्रलोभन र ‘इन्गेजमेन्ट’पछि बलात्कारको आरोपमा सेनाका जवानविरुद्ध मुद्दा

काठमाडौं : सामाजिक सञ्जालमार्फत चिनजान गरी प्रेम सम्बन्ध गाँसेको र परिवारकै सहमतिमा ‘इन्गेजमेन्ट’ गरेपछि बलात्कार गरेको आरोपमा नेपाली सेनामा कार्यरत एक जवानविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

दाङको लमही नगरपालिका-६ देउपुर घर भई हाल नेपाली सेनाको नारायणहिटी दरबारस्थित युनिटमा कार्यरत २५ वर्षीय नरेश कुमार चौधरीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबर्जस्ती करणीको कसूरमा अभियोग पत्र दायर गरेको हो।

सरकारी वकिल कार्यालयले चौधरीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अनुसार ७ देखि १० वर्षसम्म कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई मनासिब क्षतिपूर्ति भराउन माग दाबी गरेको छ।

सामाजिक सञ्जालबाट चिनजान, टिकाटालोपछि सम्बन्ध
प्रहरी वृत्त थानकोटले गरेको अनुसन्धान अनुसार, पीडित युवती र प्रतिवादी चौधरीबीच करिब दुई वर्षअघि फेसबुकमार्फत चिनजान भएको थियो।

चिनजान प्रेम सम्बन्धमा बदलिएपछि चौधरीले विवाह गर्ने र सुखसाथ पाल्ने आश्वासन दिएर काठमाडौंको चन्द्रागिरि नगरपालिका-५ गुर्जुधारास्थित युवतीको डेरा कोठामा आउजाउ गर्न थालेका थिए।

सम्बन्ध गहिरिँदै गएपछि दुवै पक्षको पारिवारिक सहमतिमा २०८२ साल माघ १८ गते युवतीको घरमा औपचारिक रूपमा टिकाटालो समेत भएको थियो। टिकाटालोमा एक वर्षपछि विवाह गर्ने सहमति भएको मिसिलमा उल्लेख छ।

जाहेरी अनुसार, टिकाटालो भएको करिब एक महिनापछि २०८२ फागुन २७ गते चौधरीले युवतीको मोबाइलमा थारु भाषामा ‘बूढी म सरलाई पुर्याएर आउँछु’ भनी म्यासेज पठाएका थिए।

सोही रात उनी गुर्जुधारास्थित युवतीको कोठामा पुगेका थिए। त्यहाँ उनले विवाहको विश्वास दिलाउँदै युवतीको इच्छा र मन्जुरीविना जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ।

उक्त रातपछि चौधरी बिस्तारै सम्पर्कविहीन बन्दै गएको र पछि उनले अर्कै युवतीसँग विवाह गरेको खुलेपछि पीडित पक्ष प्रहरीमा पुगेको थियो।

पीडित युवतीका हजुरबुबा र आमाले समेत घटना विवरण कागज गर्दै विवाहको प्रलोभनमा पारेर शारीरिक शोषण गरी बिचल्ली बनाएको भन्दै हदैसम्मको कारबाही माग गरेका छन्।

‘सम्बन्ध सहमतिमै थियो, पछि विवाद भयो’
अनुसन्धान अधिकारीसमक्ष बयान दिँदै प्रतिवादी नरेश कुमार चौधरीले आफूहरूबीच प्रेम सम्बन्ध र टिकाटालो भएको स्वीकार गरेका छन्। तर, उनले बलात्कारको आरोप भने अस्वीकार गरेका छन्।

बयानमा उनले भनेका छन्, ‘हाम्रो सम्बन्धबारे दुवै परिवारलाई थाहा थियो। टिकाटालोपछि मैले तत्कालै विवाह गरौँ भन्दा उनले केही समयपछि गरौँ भनेकी थिइन्। म सेनाको ड्युटीमा व्यस्त रहने भएकाले उनलाई पर्याप्त समय दिन नसक्दा शंका र विवाद हुन थाल्यो। उनका परिवारले ‘हाम्री छोरीसँग बिहे नगरे बलात्कार मुद्दामा फसाएर जागिर खाइदिन्छौँ’ भन्दै धम्की दिन थालेपछि मैले सम्बन्ध अगाडि नबढाउने सोचेको थिएँ।’

फागुन २७ गतेको घटनाबारे उनले म्यासेज पठाएको स्वीकार गरे पनि उक्त रात कोठामा गए/नगएको यकिन नभएको र गएको भए पनि आपसी सहमतिमै शारीरिक सम्बन्ध भएको दाबी गरेका छन्।

सेनाको पत्र र प्रमाणले पुष्टि भएको दाबी
सरकारी वकिलको अभियोग पत्रमा भने प्रतिवादीको इन्कारी बयान विश्वसनीय नदेखिएको ठहर गरिएको छ।

नेपाली सेनाको भद्रकालीस्थित प्राड विभागबाट प्राप्त पत्रअनुसार घटना भएको भनिएको दिन (२०८२ फागुन २७ गते) दिउँसो ३ बजेर ५५ मिनेटमा चौधरी ब्यारेकबाट ‘आउट’ गएको र भोलिपल्ट बिहान ०६:१५ बजे मात्र ‘हाजिर’ भएको रेकर्डले उनी सो रात बाहिरै रहेको पुष्टि गरेको छ।

यस्तै, स्वास्थ्य परीक्षण प्रतिवेदन, म्यासेजका स्क्रिनसट र पारिवारिक बयानका आधारमा विवाहको झुटा आश्वासन दिएर करणी गरेको पुष्टि भएको अभियोग पत्रमा उल्लेख छ।

साउन ३०, २०८३ शनिबार ११:४१:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।