कांग्रेस इतर पक्षको राष्ट्रिय भेला ‘सम्मेलन’मा परिणत, पाँच प्रतिवेदन प्रस्तुत
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा जारी राष्ट्रिय भेलालाई शनिबारदेखि 'राष्ट्रिय सम्मेलन'मा रूपान्तरण गरेको छ। शुक्रबार राष्ट्रिय भेलाको ब्यानरमा उद्घाटन गरिएको कार्यक्रमलाई शनिबार विभिन्न पाँच प्रतिवेदन पेस हुँदै गर्दा भेलालाई ‘राष्ट्रिय सम्मेलन’मा परिणत गरियो।
उक्त समूहका प्रचार-प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार पार्टीको विधानले भेलालाई नचिन्ने भएकाले सम्मेलन भनियो। शनिबार शीर्ष नेताहरू विमलेन्द्र निधिले राजनीतिक, डा प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरे।
नेता निधिले आफ्नो प्रतिवेदन पेस गर्दै भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गर्नका लागि प्रस्ताव गरेका थिए। प्रचारप्रसार समिति संयोजक विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रूपमा छलफल भएको थियो। प्रदेशगत धारणा र प्रस्तुति जारी रहेकाले बाँकी भोलिको सम्मेलनमा छलफल हुने र भोलि नै समापन हुने तालिका रहेको छ।
पार्टीका पूर्व महामन्त्री एवं भेलाका संयोजक डा शशांक कोइरालाको अध्यक्षतामा भएको भेलाको शुक्रबार निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए। पूर्व प्रधानमन्त्री देउवा स्वास्थ्य उपचार सकेर पाँच महिनापछि बिहीबार मात्रै स्वदेश फर्किएका थिए।
कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्ममा भएको विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो।
आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको थियो। सर्वोच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो। त्यसपछि भने असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको आधिकारिताको निवेदनमाथि पुनः सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ।
साउन ३०, २०८३ शनिबार २२:११:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।