नेपाली सेनाको मानार्थ प्रधानसेनापति बन्न आए भारतीय प्रधानसेनापति सेठ
काठमाडौं : भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आइतबार काठमाडौं आइपुगेका छन्। एयर इन्डियाको विमानमार्फत उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। सेठले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ।
नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री तथा रक्षामन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गर्ने र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गर्ने कार्यक्रम रहेको बताइएको छ।
भारतीय सेनाको प्रधानसेनापतिको जिम्मेवारी गत जुन ३० मा सम्हालेका सेठलाई नेपालले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्न लागेको हो।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नेछन् ।
नेपाल र भारतबीचका प्रधानसेनापतिलाई एकअर्को देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ । यही परम्पराअनुसार नेपाल भ्रमणमा आएका सेठलाई पनि उक्त सम्मान प्रदान गर्न लागिएको हो ।
साउन ३१, २०८३ आइतबार १९:३८:०७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।