‘आकाशे खेती’जस्तै कलाकारिता, भविष्यको सुरक्षा खोज्दै व्यापारमा तानिँदै स्टार कलाकार
काठमाडौं : नेपालमा अभिनय होस् या गायन, कलाकारितालाई मात्रै पेसा बनाएर जिउन सहज छैन।
अहिले चलेका र व्यस्त कलाकारहरूलाई पनि ‘भोलिका दिनमा यही क्षेत्रको नाम र दामले मात्र टिकाइराख्छ’ भन्ने विश्वास छैन। त्यसैले आफ्नो व्यस्त समयमै उनीहरू भविष्यको सुरक्षाका लागि कुनै न कुनै व्यापार-व्यवसायमा जोडिन थालेका छन्।
कला चलुन्जेल स्टार बन्ने र चल्न छाडेपछि के गर्ने? यही चिन्ताले अधिकांश अभिनेता, अभिनेत्री तथा गायक-गायिकालाई सताउने गरेको छ।
त्यसैले मनोरञ्जन क्षेत्रलाई ‘आकाशे खेती’ मान्ने कलाकारहरू फुर्सदको समय र कमाएको पैसा व्यापारमा लगानी गरिरहेका छन्।
दुर्गेशदेखि एलिनासम्मको व्यावसायिक फड्को
नेपालमा धेरै पारिश्रमिक लिने र फुर्सद नहुने गायक तथा मोडल हुन्- दुर्गेश थापा। उस्तै परे हेलिकोप्टर चार्टर गरेर एकै दिन दुई-तीनवटा कार्यक्रममा पुग्ने दुर्गेशलाई पनि सधैँ यही क्षेत्रमा टिकिरहने विश्वास छैन।
यही अनिश्चिततालाई मध्यनजर गर्दै उनले करिब एक महिनाअघि काठमाडौंको सामाखुसीमा ‘रोयल्स किड्स’ नामक बालबालिकाको कपडा र खेलौनाको भव्य पसल खोलेका छन्। करोडभन्दा माथिको लगानी रहेको यस पसलले भोलिका दिनमा आर्थिक कठिनाइ नहोस् भन्ने उनको उद्देश्य हो।
उकेरासँगको कुराकानीमा दुर्गेश भन्छन्, ‘कलाकारितामा सधैँ चलिन्छ भन्ने छैन। गायन तथा संगीतमा सधैँ अहिलेको जस्तै पिकअप लिइन्छ र व्यस्त भइन्छ भन्ने हुँदैन। त्यसले पनि साइड व्यवसाय गर्नैपर्ने हुन्छ। अनि श्रीमतीलाई पनि घरमा कति बस्नु, काम हुन्छ भनेर पसल खोलेको हो। यसमा अरू कुनै कारण छैन।’
स्टेज कार्यक्रम र देश-विदेशका सांगीतिक यात्रामा सधैँ व्यस्त रहने अर्की चर्चित गायिका हुन्- एलिना चौहान। उनले पनि भर्खरै मध्यबानेश्वरमा ‘रमणी’ नामक महिलाहरूको फेसन स्टोर सञ्चालनमा ल्याएकी छन्। करिब २ करोड लगानीमा खोलिएको उक्त स्टोरको उद्घाटनमा उनले पनि दुर्गेशकै जस्तो बाध्यता सुनाइन्।
आफ्नो व्यवसायबारे एलिना भन्छिन्, ‘अहिले राइट समय आयो भन्ने सोच पलाएर व्यवसाय थालेको हुँ। हामी कलाकारको गीत चलेन भने के गर्ने होला, कसरी चल्ने होला ? केही अप्सन छैन नि त!’
ऋणधन गरेर पसल खोलेकी एलिनाले थपिन्, ‘मैले सोचेको भन्दा डबल लगानी भएको छ। मैले एक करोड २० लाख सोचेको थिएँ, छान्दाछान्दै २ करोड छोएको छ।’
क्याफे र रेस्टुरेन्टमा हिरो-हिरोइनको आकर्षण
गायक-गायिका मात्र होइन, फिल्मबाट मनग्य नाम र दाम कमाएका स्टार कलाकारहरू पनि व्यवसायमा उत्तिकै सक्रिय छन्। रेखा थापा, पूजा शर्मा, प्रदीप खड्का लगायतका कलाकारहरूले रेस्टुरेन्ट तथा क्याफेमा लगानी गरेका छन्।
फिल्म निर्माण र अभिनयमा सक्रिय अभिनेत्री रेखा थापा दुई वर्षयता क्याफे व्यवसायमा पनि आबद्ध छिन्।
सिनामंगलस्थित केएमसी अस्पतालसँगै एउटा क्याफे चलाइरहेकी उनी अब थापागाउँमा छोरी ‘वैभवी राज्यलक्ष्मी’को नामबाट छोटकरीमा ‘बीआर’ नामक नयाँ क्याफे सञ्चालन गर्ने तयारीमा छन्।
कलाकारितालाई आकाशे खेती मान्ने रेखा भन्छिन्, ‘कलाकारिता पेसा हुँदाहुँदै पनि यो कला क्षेत्र भनेको आकाशे खेती हो। यो पेसा सधैँ भइरहन्छ भन्ने मलाई लाग्दैन।’
विगतमा कतिपय कलाकारले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपरेको तीतो यथार्थ स्मरण गर्दै उनी थप्छिन्, ‘कतिपय कलाकारहरू कलाकारितामा लाग्दालाग्दै पनि पैसाको अभावले अकालमै मृत्यु भएको देखिन्छ। त्यो अभाव र त्यस्तो परिस्थिति सिर्जना नहोस् भन्नका लागि पनि हामीले एक्स्ट्रा व्यापार गर्दा कला क्षेत्रलाई अझ बढी फाइदा हुन्छ कि जस्तो लाग्छ।’
आफूभन्दा पनि छोरीको भविष्यका लागि व्यापार रोजेको बताउँदै रेखाको भनाइ छ।
उनी अगाडि थप्छिन्, ‘छोरी जन्मिएपछि मलाई महसुस भयो कि व्यापारमा पनि हात हाल्नुपर्छ। कलाकारको छोराछोरी कला क्षेत्रमै आउँछन् भन्ने छैन। त्यसकारण उसले एउटा व्यापार गरेको देखेपछि व्यापार-व्यवसायमा लाग्न सक्छे। आफू सक्षम बन्छे। मैले मेरो लागि भन्दा पनि छोरीका लागि व्यापार-व्यवसाय गरेको हो।’
यस्तै, अर्की चर्चित अभिनेत्री पूजा शर्माले पनि लकडाउनको फुर्सदलाई सदुपयोग गर्दै झम्सिखेलमा ‘ट्याग रेस्टुरेन्ट एन्ड बार’ सञ्चालनमा ल्याइन्। श्रीमान् युद्ध बानियाँसँग मिलेर खोलेको यो रेस्टुरेन्ट सञ्चालनमा आएको चार वर्ष भइसकेको छ।
पूजा भन्छिन्, ‘मैले क्याफे रेस्टुरेन्टमा लगानी गर्छु भनेर सोचेको पनि थिइनँ। लकडाउनको समयमा फिल्म क्षेत्र चौपट भइसकेको थियो। फिल्म निर्माण हुने नहुने भन्ने कुरामा दोधारे अवस्था थियो। त्यो समयमा के गर्ने भन्दा रेस्टुरेन्ट खोलौँ न भनेर खोलेको हो। यसबाहेक अरू कुनै कारण छैन।’
सुटिङ नभएको बेला उनी श्रीमानसँगै रेस्टुरेन्टमै व्यस्त हुन्छिन्।
नेपाली फिल्मका महँगा अभिनेता प्रदीप खड्काले पनि दुई वर्षअघिदेखि गैरीधारामा ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट’ सञ्चालन गर्दै आएका छन्। सुटिङबाट फुर्सद मिल्नासाथ उनी त्यहीँ भेटिन्छन्।
हलदेखि फुटसलसम्म कलाकारकै लगानी
चर्चित हास्यकलाकार केदार घिमिरे (माग्ने बुढा) ले पनि ‘ए वान क्याफे’ सञ्चालनमा ल्याएका थिए। यद्यपि उनी अमेरिका आउजाउ गरिरहने हुँदा त्यसको व्यवस्थापनमा फेरबदल भइरहन्छ।
दीपकराज गिरी र दीपाश्री निरौलाको नयाँ बानेश्वरमा ‘आइएनआई’ नामक मल्टिप्लेक्स सिनेमा हल छ, जहाँ उनीहरूको करोडौं लगानी छ। यता, ‘हल्का रमाइलो’ र ‘जुठे’जस्ता टेलिश्रृंखलामा व्यस्त हास्यकलाकार बल्छी धुर्वे (मरिचमान श्रेष्ठ) ले लामो समयदेखि फुटसल व्यवसाय सञ्चालन गरिरहेका छन्।
नेपालका अधिकांश चल्तीका कलाकारहरू अभिनय र गायनको आम्दानीमा मात्र भर नपरी आफ्नो आर्थिक भविष्य सुरक्षित गर्न र बुढेसकालको सहाराका लागि व्यापार-व्यवसायलाई अनिवार्य सर्त बनाउन थालेका छन्।
साउन ३०, २०८३ शनिबार ०८:५३:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।