कांग्रेस इतरको राजनीतिक लाइन हिन्दु राष्ट्र !

कांग्रेस इतरको राजनीतिक लाइन हिन्दु राष्ट्र !

काठमाडौं :  विशेष महाधिवेशनबाट परिवर्तन भएको नेतृत्वलाई निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्मले मान्यता दिएपछि छटपटिएको नेपाली कांग्रेसको संस्थापन इतर समूहले एकातिर पार्टी एकता भन्दै गगन थापा पक्षमा दबाब बढाइरहेको थियो। अर्कोतर्फ यदि कुरा नमिले नयाँ दल दर्ताको गृहकार्य पनि समानान्तर रूपमै जारी नै थियो।

संस्थापन इतरको भेलामै गगनसँग रिसाएका केही नेताले ‘त्यो रुख र नाम किन चाहियो? के गर्यो र त्यसले निर्वाचनमा?” भन्नेसम्मका अभिव्यक्ति सार्वजनिक भए। मुख्यतः कृष्णप्रसाद सिटौलाको रणनीतिमा अब हिन्दु धर्मलाई मुख्य एजेन्डा बनाएर नयाँ दल दर्तासम्मको गृहकार्य भएको समाचार बाहिरिए। चुनाव चिन्हको रूपमा चर्चामा आयो सङ्ख।

संस्थापन वा संस्थापन इतर दुवै समूहले सार्वजनिक रूपमा यसबारे बोलेका छैनन्। तर सर्वोच्च अदालतबाट फैसला पुनरावलोकनको आदेश नआएसम्म संस्थापन इतर समूह नयाँ दलको तयारीमा रहेको र त्यसकै पृष्ठभूमिमा राष्ट्रिय भेला आयोजना गरिएको पक्ष लुक्न सकेन।

यो बिचमा संस्थापन इतर समूह फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमा गयो। सर्वोच्चले पनि माग स्विकारेर प्रारम्भदेखि नै हेर्न स्वीकृति दिएपछि संस्थापन इतर समूह हौसियो। यहीबीचमा विदेश रहेका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किए। राष्ट्रिय भेलालाई राष्ट्रिय सम्मेलनको नाम दिए।

पार्टी रूपान्तरण भने पनि यो बिचमा संस्थापन इतर समूहभित्र धर्मलाई राजनीतिमा मिसाउने रणनीति भेलामा लुकेन। भेलाको समापनमा प्रसङ्गहीन रूपमा निवर्तमान सभापति देउवाले आफू हिन्दु धर्मावलम्बी भएको प्रमाणहरू सार्वजनिक गरे। जबकि उनी कुन धर्म मान्छन् भन्ने प्रश्न उठेको थिएन। न उनीमाथि हिन्दु धर्मावलम्बी हैन भनेर कसैले सार्वजनिक आरोपै लगाएका थिए। 

अझ सम्मेलन भनिएको भेलाले पाँच बुँदामध्ये एक बुँदा धर्मबारे नै उल्लेख गर्यो। त्यसमा लेपन लगाउने प्रयास त गरियो तर त्यसले कांग्रेसको संस्थापन इतर पक्ष आफ्नो राजनीतिक अजेण्डामा धर्मलाई प्रमुख प्राथमिकता दिने तयारीमा रहेको प्रस्ट देखियो।

धर्मलाई राजनीतिमा मिसाउन आवश्यक छैन भन्ने पक्षधर संस्थापन इतरमा नभएका हैनन्। आइतबार मञ्चमा त्यसको प्रभाव पनि देखियो। धर्मबारे पाँच बुँदामा राखेको विषयले पार्टीभित्र विवाद रहेको प्रमाण बन्यो मञ्चमै भएको नेताहरूबिचको धकेलाधकेल।

देउवाको गर्जन: म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ

शेरबहादुर देउवा धार्मिक रूपमा कतातिर आस्था राख्छन्? नेपाली राजनीतिमा अहिलेसम्म नआएको विवाद हो यो। उनको नेतृत्व र नैतिकताबारे दर्जन बढी प्रश्न छन्। तर उनको धार्मिक आस्थाबारे कहिँकतै सार्वजनिक मञ्चमा प्रश्न उठेको छैन।

तर उनले एकाएक आफू हिन्दु हुँ भनेर संस्थापन इतर समूहको भेलामा प्रमाणहरू पेस गरे। उनले वर्षौँदेखि हिन्दु धर्मप्रति आस्था राख्दै आएको, आफ्नो व्रतबन्ध भएको अनि गुह्येश्वरीमा भएको विवाह हिन्दु परम्परा अनुसार नै भएको बताए।

समापन समारोहमा गर्जिँदै उनले भने, “तँ हिन्दु हुन पाउँदैन भन्न पाइँदैन। त्यसैले म हिन्दु हुँ, हिन्दु हुँ, हिन्दु हुँ!”

उनले व्यक्तिगत रूपमा आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताउन बिर्सिएनन्। विवादबाट जोगिन आफू अरू धर्म (क्रिश्चियन, मुस्लिम, राई, लिम्बू) को विरोधी नभएको स्पष्टीकरणसमेत दिए।

तर उनको अभिव्यक्तिले प्रश्न भने उठायो “कसैले उनको धार्मिक आस्थामाथि सार्वजनिक रूपमा प्रश्न नउठाएको अनि कांग्रेस इतरभित्र एक समूह राष्ट्रिय प्रजातन्त्र पार्टीले झैँ नेपाललाई पून हिन्दु राष्ट्र घोषणा गराउन लागिपरेको बेलामा उनले ‘म हिन्दु हुँ’ भन्दै राजनीतिक मञ्चमा किन प्रमाणहरू पेस गरे?

राष्ट्रिय भेलाको निर्णयमा घुसाइएको सनातन धर्म राष्ट्रको पहिचान

देउवाको उक्त अभिव्यक्तिको पृष्ठभूमिमा भेला तथा सम्मेलनले नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृतिलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने निर्णयले समेत शंका बढाउन राम्रै मलजल गरेको छ। किनकि कांग्रेस इतर पक्षको यो भेला कुनै धार्मिक अजेण्डाबारे प्रस्ट हुन हैन, पार्टीभित्र आफ्नो समूहको शक्ति प्रदर्शन गर्न भएको थियो।

भेलाको निर्णयको महत्वपूर्ण पक्ष पार्टी एकताका लागि रणनीतिहरू हुन सक्थे। तर त्यसले प्राथमिकता पाएन। बरु धर्मले पायो।

निर्णय गरियो ‘नेपालको सनातनदेखि चलिआएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो। नेपालमा रहिआएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दु, बौद्ध, किराँत र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता गर्नेछ।’

यसले कांग्रेस इतरले अबका दिनमा आफ्नो राजनीतिक हतियारको रूपमा हिन्दु राष्ट्रको अभियान र हिन्दु कार्डलाई बनाउने संकेत देखायो। आइतबार भेला आयोजक समितिको संयोजक रहेका शशाङ्क कोइरालालाई नै १५ औँ महाधिवेशनसम्मका लागि पार्टीको दैनिक गतिविधिको जिम्मा दिएर संस्थापन इतरको नेता बनाइयो।

शशाङ्क कांग्रेसभित्र बारम्बार हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएका नेता हुन्। उनी निकट शंकर भण्डारी लगायतकाले त पार्टीमा हिन्दु राष्ट्रबारे निर्णय गराउन निरन्तर दबाब बढाइरहेका नेता हुन्। यही पृष्ठभूमिमा आएको देउवाको अभिव्यक्ति अनि निर्णयले संस्थापन इतरको रणनीति सार्वजनिक गर्यो।

नेताहरूबीच मञ्चमै धकेलाधकेल 

धर्मको विषयलाई भेलाको निर्णयमा समेट्ने विषयमा नेताहरुबीच एक मत नरहेको आइतबार मञ्चकै दृश्यले देखायो। निर्णय पढ्दै गर्दा मञ्चमै नेताहरूबीच धकेलाधकेलको अवस्था देखियो।

धर्मको विषय भेलाको निर्णयमा घुसाउने भूमिका निभाउने नेतामा डा. प्रकाशशरण महतको नाम सार्वजनिक भयो। विमलेन्द्र निधि भने धार्मिक स्वतन्त्रता मात्रै लेख्नुपर्ने अडानमा थिए। 

निर्णय सार्वजनिक गर्ने क्रममा धर्मबारे व्याख्या हुन थालेपछि निधी निर्णय हेर्न मञ्चको पोडियममै पुगेर निर्णयको प्रति तानेका थिए। प्रकाशशरण महतले उनलाई अर्कोतर्फ जान भन्दा केहीबेर धकेलाधकेलसमेत भएको देखियो।

साउन ३१, २०८३ आइतबार २१:२९:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।