जाजरकोट पहिरो : चार जनाको मृत्यु, बस्ती नै जोखिममा
जाजरकोट : जाजरकोटको भेरी नगरपालिका–२ रिसाङ तथा आसपासका क्षेत्रमा भीषण वर्षापछि आएको पहिरोले ठूलो जनधनको क्षति पुर्याएको छ। पहिरोमा परेर चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। जोखिममा परेका दुई सयभन्दा बढी स्थानीयलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।
मृत्यु हुनेहरुमा भेरी नगरपालिका–२ चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र सोही वडाकी करिब ८७ वर्षीया रती खत्री, उनका छोरा ५४ वर्षीय उमासिंह खत्री रहेका छन्।
त्यस्तै, भेरी नगरपालिका–२ का करिब ५२ वर्षीय केदार कार्कीको उपचारका क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जाजरकोटका प्रहरी नायब उपरीक्षक बुद्धीसागर पुरीले जानकारी दिए।
यस्तै, भेरी नगरपालिका–२ रिसाङका ६० वर्षीय रामबहादुर शाही गम्भीर घाइते भएका छन्। आरनमा काम गरिरहेको अवस्थामा माथिबाट पहिरो खस्दा उनको छाती, टाउको र हातमा चोट लागेको थियो। जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज हुँदै मेडिकल कलेज कोहलपुर लगिएको छ।
आरन सञ्चालक ४५ वर्षीय सिद्धिबहादुर कामीको ढाडमा चोट लागेको छ। जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३१ गते बिहान थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
भेरी नगरपालिका–२ चिसापानीकी ५७ वर्षीया भद्राकली कार्की पनि शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएकी छन्। उनलाई जिल्ला अस्पताल जाजरकोटमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रिफर गरिएको छ।
यसैगरी, भेरी नगरपालिका–१ डौरीकाँडाका ४५ वर्षीय मनवीर चदरा टाउकोमा चोट लागेर घाइते भएका छन्। उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ। सोही स्थानका १६ वर्षीया मनिषा विक र ४७ वर्षीया मोतीकला विक पनि घाइते भएका छन्।
पहिरोमा परी घाइते भएका भेरी नगरपालिका–२ का करिब २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिश शाही र ४५ वर्षीया सुन्तली चदराको जिल्ला अस्पताल जाजरकोटमा उपचारपछि साउन ३० गते राति १२ बजे डिस्चार्ज गरिएको छ।
शनिबार दिउँसो करिब ४ बजेदेखि परेको अविरल वर्षाका कारण रिसाङ, चिसापानी, झ्यालीखेत र राउटेरे डाँडा क्षेत्रका घर तथा टहराहरू भत्किएका छन्।
प्रभावित क्षेत्रका ६०-७० घरपरिवारका करिब २०० जनालाई त्रिभुवन आधारभूत विद्यालयको भवनमा राखिएको छ। उद्धार तथा सुरक्षित स्थानान्तरण गरिएकामध्ये झ्यालीखेत डाँडाबाट १६ जना, चिसापानीबाट २० जना, राउटेरे डाँडाबाट १५ जना र रिसाङ फारुलाबाट १४९ जना रहेका छन्।
जोखिमका बीच सुरक्षाकर्मीको उद्धार
पहिरोका कारण विभिन्न स्थानमा सडक तथा बाटो अवरुद्ध भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले पैदल मार्ग हुँदै पुगेर उद्धार कार्य जारी राखेका छन्। प्रसनि प्रेमबहादुर फौजाको नेतृत्वमा १० जना प्रहरी टोली खटिएको छ।
अविरल वर्षा अझै जारी रहेकाले प्रभावित क्षेत्रमा थप पहिरोको जोखिम कायमै रहेको छ। सुरक्षाकर्मी तथा स्थानीय तहले प्रभावित क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन्।
राहत र प्रदेश सरकारको पहल
कर्णाली प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागबमोजिम तत्काल राहत सामग्री पठाएको छ। प्रदेश सचिव लक्ष्मी विकका अनुसार जिल्ला प्रशासन कार्यालय जाजरकोटको मागअनुसार १५० थान त्रिपाल, १८५ थान ब्ल्याङ्केट, ५० किलो चिउरा, चार क्विन्टल चामल, २० सेट टेन्ट, दुई रोल कालो प्लास्टिक र दुई रोल पिफम पठाइएको हो।
मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रभावित परिवारलाई थप राहत र पुनःस्थापनाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्। विद्यालयमा आश्रित विस्थापितहरूको स्वास्थ्य परीक्षणसमेत सुरु गरिएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिए।
भेरी करिडोर ठप्प
पहिरोका कारण जाजरकोट, रुकुम पश्चिम र डोल्पा जोड्ने भेरी करिडोर अन्तर्गत नलगाड नगरपालिका-१० र ११ को सीमामा पर्ने ताक्सुगाडमा सडक पूर्ण रूपमा भत्किएको छ। योजना प्रमुख नरेश कुमार केसरीका अनुसार सडक सञ्चालनमा ल्याउन कम्तीमा एक साता लाग्नेछ। (हेमन्त केसी, जाजरकोट/नेपाल न्यूज बैंक)
साउन ३१, २०८३ आइतबार १८:०८:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।