देउवा समूहको भेलापछि पूर्णबहादुर नेतृत्वबाट ब्याक, इतर समूहको नेता अब सशांक
काठमाडौं : नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि संस्थापनबाट 'संस्थापन इतर' बनेको शेरबहादुर देउवा समूहले आफ्नो नेताको रूपमा डा. सशांक कोइरालालाई अगाडि सारेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित पार्टीको नेतृत्व विरुद्ध देउवा समूहबाट अहिलेसम्म कार्यवाहक सभापतिको रूपमा पूर्णबहादुर खड्का सक्रिय थिए। तर, हालै आयोजित राष्ट्रिय भेला आयोजक समितिको संयोजक सशांकलाई बनाइयो।
उद्घाटन 'राष्ट्रिय भेला' का रूपमा गरिए पनि पछि 'राष्ट्रिय सम्मेलन' बनाइएको थियो। सोही सम्मेलनले आइतबार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापतिमा अस्वीकार गर्दै सभापति शेरबहादुर देउवा नै कायम रहेको दाबी गर्यो।
सोही भेलाले भेलाका संयोजक डा. कोइरालालाई पन्ध्रौँ महाधिवेशनसँग सम्बन्धित क्रियाकलाप अघि बढाउने जिम्मेवारी समेत दियो।
पन्ध्रौँ महाधिवेशन देउवाकै नेतृत्वमा हुने भन्दै भेलाले त्यसका लागि नियमित क्रियाकलाप भेला आयोजक संयोजक सशांकले नै गर्ने निर्णय गरेको हो। सशांक १५ औँ महाधिवेशनमा देउवा समूहबाट सभापतिको उम्मेदवार बन्ने प्रयासमा थिए। तर पूर्णबहादुर सहित आधा दर्जन बढी आकांक्षीका कारण देउवा खुलेका थिएनन्।
आवश्यक परे नयाँ दल दर्ता गर्ने गरी अगाडि बढेको समूहको निवेदनमा विशेष महाधिवेशनबारे निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसला पुनरावलोकन गर्ने सर्वोच्चको निर्णयपछि संस्थापन इतर कांग्रेसकै रूपमा आफ्नो गतिविधि बढाउन सक्रिय भयो।
आइतबार भेलाको निर्णयसँगै अब अदालत र गगन थापा समूहसँगको छलफलको नेतृत्व सशांकको नेतृत्वमा अगाडि बढ्ने भएको छ। यसले सर्वोच्चबाट फैसला उल्टिए सशांक सो समूहको नेता बन्ने बाटो खुलेको छ।
सर्वोच्चबाट पुरानै फैसला सदर भए दर्ता हुन सक्ने नयाँ दलको नेतृत्व पनि संशाक नै हुन सक्छन्। तर उनले आफू पार्टी विभाजनको पक्षमा नरहेको बताइरहेका छन्। उनले भावी सभापतिको उम्मेदवार आकांक्षी रहेको तर शेखर कोइराला अगाडि बढे सहयोग गर्ने बताएका छन्।
साउन ३१, २०८३ आइतबार १४:४३:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।