आफू धार्मिक स्वतन्त्रताको पक्षमा रहेको भन्दै देउवाले भने, "म हिन्दु हुँ, हिन्दु"
काठमाडौं : नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाले व्यक्तिगत रूपमा आफू हिन्दु भएको उल्लेख गर्दै धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन्।
आइतबार काठमाडौंमा जारी कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले आफ्नो विवाह र व्रतबन्ध पनि हिन्दु परम्पराअनुसार भएको प्रस्ट पारे। अहिले कसैले पनि आफूलाई हिन्दु होइन भन्न नपाउने देउवाले बताए।
हिन्दु राज्यबारे धारणा राख्न माग आएको भन्दै देउवाले आफू हिन्दु भएको र अन्य धर्मलाई सम्मान गर्ने बताए। सम्बोधनको क्रममा गर्जिँदै उनले भने, "म हिन्दु हुँ, हिन्दु, पशुपति जान्छु, पूजा गर्छु। म हिन्दु हुँ।"
कार्यक्रममा देउवाले पार्टीको आन्तरिक विवाद र न्यायालयको भूमिकाबारे पनि चर्चा गरे। गत पुसमा सम्पन्न विशेष महाधिवेशन जबर्जस्तीरुपमा भएको उनको भनाइ थियो। धेरै नेता-कार्यकर्तालाई बाहिर राखेर गरिएको विशेष महाधिवेशन विरुद्धको अदालतमा मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै उनले न्यायालयबाट न्याय पाउनेमा आफू पूर्ण विश्वस्त रहेको बताए।
विशेष अधिवेशनलाई आफूले मैले नमानेको भन्दै देउवाले भने, “जबर्जस्ती गरेर धेरै साथीलाई बाहिर राखियो। अदालत गयौं। अदालतको निर्णय आउन बाँकी छ। अहिले अदालतको विषयमा धेरै बोल्नुपर्ने कारण छैन।”
उनले न्यायालयबाट आफूलाई पञ्चायतदेखि राजाको शासन हुँदै अहिलेसम्म न्याय मिलेको दोहोर्याए। अहिले पनि न्यायालयले बचाएका कारण आफू स्वदेश आएको उनको भनाइ थियो। उनले भने, “सर्वोच्चले राजाले थुन्दा पनि छुटाएको हो। अहिले पनि न्यायालयले मलाई बचाएको छ। जसको कारणले म नेपालमा आएको छु।”
साउन ३१, २०८३ आइतबार १४:११:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।