कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलनबाट परिमार्जित पाँचै प्रस्ताव पारित

कांग्रेस इतर समूहको राष्ट्रिय सम्मेलनबाट परिमार्जित पाँचै प्रस्ताव पारित

काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर पक्षद्वारा आयोजित राष्ट्रिय सम्मेलनले पार्टीको नीतिगत र सांगठनिक सुदृढीकरणका लागि प्रस्तुत पाँच वटै प्रस्ताव आइतबार परिमार्जनसहित पारित गरेको छ।

काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा शुक्रबारदेखि जारी भेलालाई शनिबार 'सम्मेलन'मा रूपान्तरण गरी उक्त प्रस्तावहरू अनुमोदन गरियो। 

सम्मेलनमा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक, पूर्व कोषाध्यक्ष उमाकान्त चौधरीले सांगठनिक र नेता एनपी साउदले समसामयिक नीतिसम्बन्धी प्रस्ताव पेस गरेका थिए। त्यसैगरी, डा. प्रकाशशरण महतले नेपालको आर्थिक नीति र नेता रमेश लेखकले कानुन तथा विधान संशोधनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए।

शनिबार प्रस्तुत भएका प्रस्तावहरूमाथि सातै प्रदेशका प्रतिनिधिहरूलाई समूहमा विभाजन गरी छलफल गरिएको थियो। प्रतिनिधिहरूले उठाएका जिज्ञासा र दिएका सुझावका आधारमा सम्बन्धित प्रस्तावकहरूले जवाफ दिएपछि बन्दसत्रले प्रस्तावहरूलाई अन्तिम रूप दिँदै पारित गर्यो।

पार्टी सदस्यतालाई डिजिटल प्रविधिमार्फत स्वचालित बनाउने, सदस्यता नवीकरण र खारेजीको व्यवस्थालाई पारदर्शी बनाउने तथा वडा तहदेखि नै केन्द्रसम्म अभिलेखीकरण गर्ने प्रावधान थप गरेर प्रस्ताव पारित गरियो। यस्तै, ३० वर्षमुनिका युवालाई पार्टीका सबै तहमा प्रत्यक्ष निर्वाचित वा मनोनीत हुने सुनिश्चितता गर्ने, क्षेत्रीय प्रतिनिधिको चयन भूगोल र जनसंख्याका आधारमा गर्ने र समावेशी कोटामा एक पटक मात्र मनोनयन हुन पाउने जस्ता योजनाहरू प्रस्तावमा समेटियो। 

सांगठनिक प्रस्तावमा भ्रष्टाचारप्रति शून्य सहनशीलता, सार्वजनिक स्रोतको पारदर्शी उपयोग र नागरिक संवादलाई प्राथमिकता दिने विषय समेटिएका छन्। सम्मेलनमा पूर्व सभापति शेरबहादुर देउवालगायतका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। गत पुसमा भएको विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सुरु भएको भेला शनिबार घोषणापत्र जारी गरेर सम्मेलनको हैसियतमा समापन गरिँदै छ। 

साउन ३१, २०८३ आइतबार १३:३९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।