नाइमा एक्स्पोको समापन आज, विशेष अफर लिने अन्तिम अवसर
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आइतबार समापन हुँदैछ। पाँच दिनमै आयोजकले अपेक्षा गरेको एक लाख ५० हजारभन्दा बढी अवलोकनकर्ता पुगिसकेको अवस्थामा अन्तिम दिन अवलोकनकर्ताको उपस्थित अझ उल्लेख्य रहने अपेक्षा गरिएको छ।
साउन २६ गतेदेखि सुरु भएको एक्स्पोमा शनिबार मात्रै ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए। यससँगै पाँच दिनमा अवलोकनकर्ताको संख्या डेढ लाख नाघेको हो। आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले ६ दिनमा डेढ लाख अवलोकनकर्ता आउने लक्ष्य राखेको थियो।
अन्तिम दिन एक्स्पोमा सहभागी ब्रान्डका नयाँ मोडल, विद्युतीय सवारीसाधन, स्मार्ट प्रविधि तथा खरिदमा उपलब्ध अफर अवलोकन गर्ने अवसर रहनेछ। मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिएका छन् भने हालसम्म ५३ नयाँ मोडल सार्वजनिक भइसकेका छन्।
विशेषगरी विद्युतीय कार, ई-स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनप्रति अवलोकनकर्ताको आकर्षण देखिएको छ। सवारीसाधन खरिद गर्न चाहनेहरूले ब्याट्री क्षमता, रेन्ज, मोटर, चार्जिङ समय, आफ्टर-सेल्स सर्भिस, ब्याट्री वारेन्टी तथा रिसेल भ्यालुका विषयमा जानकारी लिइरहेका छन्।
कम्पनीहरूले पनि एक्स्पो लक्षित गर्दै मूल्यमा छुट, निःशुल्क बीमा, सवारी कर, फ्रि सर्भिसिङ तथा सहुलियत ब्याजदरमा कर्जा लगायतका सुविधा अघि सारेका छन्। यसले एक्स्पोलाई नयाँ सवारीसाधनबारे जानकारी लिने मात्र नभई खरिद तथा बुकिङ गर्ने अवसरका रूपमा समेत स्थापित गरेको छ।
शनिबारको भीडका कारण पार्किङ व्यवस्थापनमा समेत चुनौती देखिएको थियो। भृकुटीमण्डप परिसर, नेपाल प्रहरी क्लब तथा आसपासका विभिन्न स्थानमा पार्किङको व्यवस्था गर्दा पनि सवारीसाधनको चाप व्यवस्थापन गर्न कठिन भएको आयोजकले जनाएको छ।
एक्स्पोको अन्तिम दिन आइतबार ‘नाइमा मोबिलिटी संवाद’ अन्तर्गत विभिन्न विषयमा छलफल तथा अन्तर्क्रिया हुने आयोजकले जनाएको छ। एक्स्पोमा प्रविधि, विद्युतीय सवारी, वित्त, बीमा, ब्याट्री तथा दिगो यातायात प्रणालीसँग सम्बन्धित विषयमा विज्ञहरूसँग छलफल गरिएको थियो।
आयोजकका अनुसार नाइमा मोबिलिटी एक्स्पोको उद्देश्य नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्नु हो। पछिल्ला दिनमा देखिएको उल्लेख्य सहभागिताले नेपालमा विद्युतीय तथा आधुनिक मोबिलिटीप्रति उपभोक्ताको चासो बढ्दै गएको संकेत गरेको आयोजकको भनाइ छ।
आइतबार अन्तिम दिन भएकाले नयाँ मोडल हेर्न, विभिन्न ब्रान्डको तुलना गर्न तथा एक्स्पोमा उपलब्ध विशेष अफरको लाभ लिन चाहने अवलोकनकर्ताका लागि यो अन्तिम अवसर हुनेछ।
साउन ३१, २०८३ आइतबार ११:३६:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।