एनपीएल ३ : चोभारतर्फको २२ सय टिकट बिक्रीमै राखिएन, दर्शकलाई सिट घटाइयो

एनपीएल ३ : चोभारतर्फको २२ सय टिकट बिक्रीमै राखिएन, दर्शकलाई सिट घटाइयो

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको उद्घाटन खेलका लागि बिहीबार साँझ खुला गरियो।

नेपाल क्रिकेट संघ (क्यान)ले सर्वसाधारणका लागि टिकट नै अत्यधिक घटाएर प्रायोजकहरूलाई मैदान सुम्पिँदा टिकट आधा घण्टामै ‘सोल्ड आउट’ हुन पुग्यो।

प्रतियोगिताको आधिकारिक टिकटिङ पार्टनर ‘इसेवा’मार्फत बिहीबार साँझ ८ बजे बुकिङ खुला गरिएकोमा ८:३० बजे नै प्रणाली बन्द भयो।हजारौं क्रिकेटप्रेमीले टिकटको प्रतीक्षा गर्दा गर्दै केही मिनेटमै सबै टिकट सकिएको देखाइयो।

साढे ८ बजे नै अनअभाइलेभल देखाइएको स्क्रिनसट।

तर, आधा घण्टामै टिकट सकिनुको मुख्य कारण क्रिकेट क्रेज मात्र नभई क्यानको अपारदर्शी रणनीति हो।

उद्घाटन खेलका लागि कुल कति सङ्ख्यामा सर्वसाधारणका लागि टिकट बिक्रीमा राखिएको थियो भन्ने विवरणसमेत न त क्यानले सार्वजनिक गरेको छ, न टिकटिङ पार्टनर इसेवाले नै खुलाएको छ।

चोभार एन्ड ‘भीआईपी’को कब्जामा, सर्वसाधारणलाई शून्य सिट
एनपीएलको पहिलो र दोस्रो संस्करणसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ‘चोभार एन्ड’ अर्थात पूर्वतर्फको केही भाग प्रायोजकलाई छुट्याएर बाँकी भाग सर्वसाधारण दर्शकका लागि खुला गरिँदै आएको थियो। तर, यसपटक भने चोभार एन्डतर्फ सर्वसाधारणका लागि एउटा पनि टिकट बिक्रीमा राखिएन।

मैदानको उक्त पूरै भाग क्यानले आफ्ना जिल्ला र प्रदेशका प्रतिनिधि, सिजनल पास होल्डर, ब्रोडकास्ट पार्टनर, फ्रेन्चाइज टिमका मालिक र कर्पोरेट प्रायोजकहरूको ‘हस्पिटालिटी’का लागि सुम्पिएको छ।

जोनका नाममा व्यापार
चोभार एन्ड पूरै बन्द गरिएपछि बाँकी रहेका सीमित सिटहरूलाई क्यानले प्रिमियम, कञ्चनजङ्गा, सगरमाथा, रेडबुल, सिद्धार्थ र ओमोडा जोनका नाममा व्यावसायिक ब्रान्डिङ गरेर सीमित सङ्ख्यामा मात्र सर्वसाधारणका लागि खुला गरेको थियो।

चोभार एन्ड अर्थात स्टेडियमको पूर्वी खण्डमा २ हजार २ सय ९० वटा सिट थियो भने पश्चिमी खण्डमा ७ हजार ७ सय १० सिट क्षमता छ। तर यो ७ हजार ७ सय १० मध्ये पनि कति टिकट सर्वसाधारणका लागि खुलाइएको हो, खुलाइएको छैन।

क्यानले लिग चरणका लागि साधारणतर्फ ५०० र प्रिमियमतर्फ १,००० रुपैयाँ तथा इलिमिनेटर र फाइनलका लागि साधारणतर्फ १,००० र प्रिमियमतर्फ २,००० रुपैयाँ टिकट दर तोकेको छ। टिकटको संख्या नै न्यून राखिएपछि लाखौंको सङ्ख्यामा रहेका समर्थकहरूबीच केही हजार टिकट ३० मिनेटमै सकिनु स्वाभाविक थियो।

आगामी ९ कात्तिकदेखि सुरु हुने एनपीएल ३ को उद्घाटन खेलमा अघिल्लो सिजनका फाइनलिस्ट सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्।

अपडेट : आधा घण्टामै 'अनअभाइलेभल' देखाएकोमा राति १०:१५ बजेदेखि भने फेरि ईसेवामा फेरि प्रिमियम र रेडबुल र ओमोडा जोनको टिकट 'फ्यू टिकट्स  लेफ्ट' देखाएको छ।

कात्तिक ५, २०८३ बिहीबार २१:५५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।