आफ्नै दलभित्र भागबन्डा नमिल्दा मुख्यमन्त्री भट्टलाई मन्त्रिपरिषद् विस्तारमा सकस

आफ्नै दलभित्र भागबन्डा नमिल्दा मुख्यमन्त्री भट्टलाई मन्त्रिपरिषद् विस्तारमा सकस

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको आफ्नो दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट मन्त्रीको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार अन्योलमा परेको छ।

सत्ता साझेदार दल एमालेले आफ्ना मन्त्रीहरू सरकारमा पठाइ सकेको अवस्थामा नेकपाभित्र भने साबिक तीन घटकबीच शक्ति सन्तुलन मिलाउन सकस पर्दा मुख्यमन्त्री भट्टलाई आफ्नै दलबाट मन्त्री छान्न कठिन भएको हो।

दुई दर्जन बढी वामपन्थ दल मिलेर बनेको नेकपाबाट तत्कालीन माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको सुदूरपश्चिम प्रदेश सभामा उपस्थिति छ। उनीहरूले सम्मानजनक सहभागिता र शक्तिशाली मन्त्रालयमा अडान राखेपछि नेकपाबाट मन्त्रीको टुंगो लाग्न सकेको छैन।

कांग्रेस-एमाले गठबन्धन टुटेपछि सुदूरपश्चिम प्रदेशमा नेकपा र एमालेबीच केन्द्रमा भएको समझदारी अनुरूप भट्ट मुख्यमन्त्री बनेका थिए। उनी मुख्यमन्त्री बनेकै दिन एमालेबाट तीन जनालाई मन्त्री र एक जनालाई राज्यमन्त्रीमा नियुक्त भइसकेका छन्।

नयाँ सत्ता समीकरणमा नेकपाले मुख्यमन्त्री र तीन मन्त्रालय र एमालेले तीन मन्त्रालय पाउने सहमति भएको थियो। एमालेका भागमा परेको अर्थमन्त्री, सामाजिक विकास मन्त्री, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र एक राज्यमन्त्री नियुक्त भइसकेका छन्।

तर नेकपाको भागमा परेका भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानुन र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा मन्त्री नियुक्त हुन बाकी छ। नेकपामा रहेका साविकका तीन घटकका शीर्ष नेताहरूले आफूले बढी मन्त्री पाउनुपर्ने दाबी गरिरहेका छन्।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सभामुख र एक निलम्बन बाहेक ३२ सिट सहित नेकपा सबैभन्दा ठूलो दल हो। विशेषगरी साबिकको तत्कालीन नागरिक उन्मुक्ति पार्टीका नेताहरूले आफूहरूको भूमिका र योगदानको उचित मूल्याङ्कन नभए सरकार गठनमै समस्या आउन सक्ने चेतावनी दिएका छन्।

मुख्यमन्त्री भट्टले सबैलाई मिलाएर लैजाने आश्वास दिएको उल्लेख गर्दै नेकपा (साविकको नागरिक उन्मुक्ति पार्टी) का प्रदेश सभा सदस्य घनश्याम चौधरीले भने, "खै कसरी मिलाउनु हुन्छ, त्यो त पछि थाहा होला।"

यसअघि आन्तरिक किचलोका कारण नेकपाले तत्कालका लागि मुख्यमन्त्रीमा खगराज भट्टको नाम मात्र सिफारिस गरेको थियो।  अर्कोतर्फ, सत्ता साझेदार दल एमालेबाट सामाजिक विकास मन्त्रीमा सन्तोष शर्मा थापा, आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा दमन भण्डारी र आर्थिक मामिला राज्यमन्त्रीमा जानकी ऐर बम नियुक्त भई पदभार ग्रहण गरिसकेका छन्। 

लामो समयदेखि बजेट शून्यताको सामना गरिरहेको सुदूरपश्चिम प्रदेशलाई गति दिन नवनियुक्त मुख्यमन्त्री भट्टलाई जतिसक्दो चाँडो मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने दबाब छ। उनले साविकका सबै घटकको सम्मान हुने गरी मन्त्रीको छनौंट गरिने बताएका छन्। त्यस विषयमा केन्द्रीय तथा प्रदेश तहमा छलफल भइरहेको उनको भनाइ छ। 

"एक दुई दिनमै हामी सबै मन्त्रीको नाम टुंगोमा पुर्याउने गरी छलफल गरिरहेका छौं," मुख्यमन्त्री भट्टले भने, "मन्त्री छनौट गर्दा सबैको सम्मान हुने छ।"

साउन ३१, २०८३ आइतबार १०:४०:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।