कर्जाको माग सुस्त हुँदा निक्षेपको ब्याजदर घट्यो, भदौमा औसत ४.१३६ प्रतिशतमा सीमित

कर्जाको माग सुस्त हुँदा निक्षेपको ब्याजदर घट्यो, भदौमा औसत ४.१३६ प्रतिशतमा सीमित

काठमाडौं : बैंकिङ प्रणालीमा पर्याप्त रकम भए पनि कर्जाको माग सुस्त रहेपछि वाणिज्य बैंकहरूले भदौ महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। साउनको तुलनामा भदौमा व्यक्तिगत निक्षेपको औसत अधिकतम ब्याजदर घटेर ४.१३६ प्रतिशतमा झरेको छ।

भदौ महिनाका लागि २० मध्ये ५ बैंकले दर घटाएका छन् भने बाँकी बैंकले अघिल्लै महिनाकै दरलाई निरन्तरता दिएका छन्।

साउनमा व्यक्तिगत निक्षेपतर्फ बैंकहरूले दिने औसत अधिकतम ब्याजदर  ४.१६७५ प्रतिशत रहेकोमा भदौमा ४.१३६ प्रतिशतमा सीमित भएको छ। एक महिनामै औसत अधिकतम दर ०.०३१५ प्रतिशतले घटेको हो।

संस्थागत निक्षेपमा पनि ब्याजदर घटेको छ। साउनमा औसत ३.११६ प्रतिशत रहेको संस्थागत निक्षेपको अधिकतम दर भदौमा ३.०८१ प्रतिशतमा झरेको छ। 

सिद्धार्थको सबैभन्दा ठूलो कटौती

भदौमा ब्याजदर घटाउने पाँच बैंकमध्ये सिद्धार्थ बैंकले व्यक्तिगत निक्षेपमा सबैभन्दा ठूलो कटौती गरेको छ। बैंकले व्यक्तिगततर्फ ०.२९ प्रतिशतविन्दुले दर घटाएर ३.७६ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपमा पनि ०.२० प्रतिशतविन्दु घटाउँदै ३.०५ प्रतिशतमा झारेको छ।

नेपाल बैंकले व्यक्तिगत निक्षेपको दर ०.१० प्रतिशतविन्दुले घटाएर ४.१५ प्रतिशत कायम गरेको छ। संस्थागत निक्षेपमा भने ०.५० प्रतिशतविन्दुको ठूलो कटौती गर्दै ३.५० प्रतिशतमा सीमित गरेको छ। त्यस्तै, सिटिजन्स बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएर ३.८५ प्रतिशत कायम गरेको छ। कुमारी बैंकले ३.७६ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ३.८० प्रतिशत ब्याजदर कायम गरेका छन्।

१५ बैंकले पुरानै ब्याजदरलाई दिए निरन्तरता

भदौमा ब्याजदर परिवर्तन नगर्ने बैंकको संख्या भने १५ रहेको छ। नबिल बैंक र प्रभु बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ४.५५ प्रतिशत ब्याजदर कायम गर्दै उच्च दरको सूचीमा छन्।

नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबी, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमईलगायत बैंकले पनि साउनमा कायम गरेको दरलाई नै भदौमा निरन्तरता दिएका छन्।

बैंकिङ प्रणालीमा पर्याप्त रकम उपलब्ध भए पनि कर्जाको माग सोही अनुपातमा बढ्न सकेको छैन। फलस्वरूप बैंकहरूमा निक्षेप बढ्दै जाने तर कर्जा विस्तार अपेक्षाकृत सुस्त रहने अवस्था छ। यस्तो अवस्थामा निक्षेपका लागि बढी ब्याज तिर्नुभन्दा लागत घटाउने रणनीति बैंकहरूले अपनाएका हुन्।

साउन ३१, २०८३ आइतबार १०:३२:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।