शनिबार पाँच स्थानमा लामो लाइन, दुई स्थान थप गरी आइतबार सात केन्द्रबाट ग्यास बिक्री
काठमाडौं : बजारमा एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा ग्यास उद्योगीहरुबाट आइतबार पनि काठमाडौं उपत्यकाका सात स्थानबाट ग्यास बिक्रीको व्यवस्था मिलाएको छ।
शनिबार पाँच स्थानबाट ग्यास वितरण गरिए पनि उपभोक्ताको चाप उच्च देखिएपछि निगमले आइतबार दुई स्थान थप गरी सात केन्द्रबाट ग्यास बिक्री वितरण गर्ने भएको हो।
शनिबार निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि परिचयपत्र र खाली सिलिन्डर बोकेका सर्वसाधारणको लामो लाइन देखियो। निगमका अनुसार आइतबार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ग्यास बिक्री गरिनेछ।
त्यस्तै पशु सेवा शाखा, चपली-बुढानीलकण्ठबाट नेपाल, एचपी र भानु ग्यास तथा राधास्वामी, कीर्तिपुर परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ग्यास बिक्री हुनेछ।
नयाँ बजार जुडे हल परिसरबाट नेपाल, एचपी र ओम ग्यास, तारकेश्वर नगरपालिकाको परिसरबाट नेपाल र एचपी ग्यास तथा चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ग्यास बिक्री गरिने निगमले जनाएको छ। राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ग्यास बिक्री हुनेछन्।
निगमले नियमित रूपमा एलपी ग्यास आयात भइरहेको र सोहीअनुसार बिक्री वितरण गर्न उद्योगीहरूलाई आफ्ना विक्रेतामार्फत नियमित व्यवस्था मिलाउन अनुरोध गरेको छ। पछिल्लो समय निगमले बजारमा ग्यासको आपूर्ति बढाए पनि केही व्यवसायिक प्रतिष्ठानमा आवश्यकताभन्दा बढी सिलिन्डर मौज्दात राखिएको पाइएको जनाएको छ।
निगमले ग्यास आवश्यक पर्ने उपभोक्तालाई नागरिकता वा राष्ट्रिय परिचयपत्रसहित तोकिएका बिक्री केन्द्रमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म उपस्थित भई ग्यास खरिद गर्न अनुरोध गरेको छ। हाल १४.२ किलोग्रामको भरिएको एलपी ग्यास सिलिन्डरको मूल्य २ हजार ६० रुपैयाँ कायम छ।
साउन ३०, २०८३ शनिबार २०:०९:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।