हातैले भगवानलाई रंग्याउने ७३ वर्षकी चेतकुमारी

हातैले भगवानलाई रंग्याउने ७३ वर्षकी चेतकुमारी

भक्तपुर : श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमी नजिकिँदै गर्दा भक्तपुरको याँछेस्थित नवदुर्गाको थछें (मुकुन्डो बनाउने घर) मा चहलपहल बढेको छ। डिजिटल प्रविधिको युगमा पनि ७३ वर्षीया चेतकुमारी चित्रकार आफ्नै हातले घोटेर तयार पारेका रङहरूले नागका परम्परागत चित्रहरू सजाउन व्यस्त छिन्।

२०१० सालमा जन्मिएकी चेतकुमारीले २१ वर्षको उमेरदेखि देवीदेवता र नागका मौलिक चित्रहरू बनाउन सुरु गरेकी थिइन्। नवदुर्गा गणको मुकुन्डो बनाउने पूर्ण चित्रकारसँग विवाह भएर आएपछि उनले ससुराको आग्रहमा यो परम्परागत कामलाई निरन्तरता दिइन्। उनी ५२ वर्षदेखि यही कलामा अनवरत रूपमा लागिरहेकी छिन्।

परापूर्वकालदेखि नै नागपञ्चमीको दिन घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने चलन छ। यसो गर्दा सर्प, बिच्छीजस्ता विषालु जीव तथा चट्याङ र आगलागीबाट रक्षा हुने नेवा: समुदायमा जनविश्वास रहिआएको छ।

बजारमा मेसिनबाट प्रिन्ट गरिएका तयारी पोस्टरहरू सहजै पाउन सकिन्छ।

पहिले उनी काठको ब्लक प्रयोग गरेर हातैले कागजमा चित्र छाप्थिन्। तर १५ वर्षयता बजारमा मेसिनले तयार पारेका पोस्टरहरू आउन थालेपछि मौलिक चित्रको माग घट्यो। तैपनि उनले हार मानिनन्।

उमेर ढल्किँदै जाँदा हातहरूले राम्ररी काम गर्न नसकेपछि उनले अहिले देवीदेवताको तस्बिरलाई कम्प्युटरबाट 'ब्ल्याक एन्ड ह्वाइट' प्रिन्ट गराउँछिन् अनि त्यसमा हातले रङ भर्ने गरेकी छिन्। उनी आफैँले रङ घोटेर परम्परागत विधिबाट आफैँ तयार पार्छिन्। चेतकुमारी आफ्नै हातले रङ भरेर तयार पारेको मौलिक चित्रको महत्त्व अझै रहेको बताउँछिन्।

चेतकुमारीले नागपञ्चमीका लागि मात्र नभई चथापूजा (गणेश चतुर्थी), सापारु (गाईजात्रा), दशैँ र तिहारजस्ता विभिन्न चाडपर्वमा प्रयोग हुने देवीदेवताका चित्रहरू पनि तयार पार्छिन्।

नागपञ्चमीबाट उनको काम सुरु हुन्छ। त्यसपछि गाइजात्रा आउँछ। उनी त्यसको तयारीमा लाग्छिन्। गणेश चतुर्थीका लागि गणेशको मूर्ति बनाउँछिन्। त्यसपछि दशैँका लागि चित्रमा रंग भर्न थालेकी उनी दशैँ लगत्तै तिहारका लागि लक्ष्मी रङ्गाउन लागिहाल्छिन्।

उनले जे काम गरिरहेकी छिन् त्यो पुस्तैनी काम हो। ससुराको आग्रहमा सुरु गरेकी उनी पछि यसैमा रमाइन्। तर अब उनीपछि यो काम कसले गर्ला एकिन छैन। उनको परिवारमा नयाँ पुस्ताका सदस्यले चासो राखेका छैनन्।

यसले कतै यो मौलिक हस्तकला लोप हुने त हैन भन्ने चिन्तामा छिन् उनी। चेतकुमारीले वृद्धावस्थामा पनि यसलाई निरन्तरता दिएर नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बनेकी छिन्। उनलाई आफ्ना परिवारका वा नयाँ पुस्ताका कसैले यो सीप सिकिदिए हुने भन्ने लाग्छ।

साउन ३०, २०८३ शनिबार १९:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।