ग्यासका लागि परिचयपत्र बोकेर घण्टौं लाइनमा सर्वसाधारण, ‘दालमोठ र चिउरा’को भरमा दैनिक गुजारा!

ग्यासका लागि परिचयपत्र बोकेर घण्टौं लाइनमा सर्वसाधारण, ‘दालमोठ र चिउरा’को भरमा दैनिक गुजारा!

काठमाडौं : बजारमा एलपी ग्यासको अभाव हुँदा काठमाडौंका विभिन्न पाँच स्थानबाट ग्यास बिक्री वितरणको व्यवस्था मिलाएपछि शनिबार बिहानैदेखि परिचयपत्र र खाली सिलिन्डर बोकेका उपभोक्ताहरूको लामो लाइन देखियो।

नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा विभिन्न ग्यास उद्योगमार्फत काठमाडौंको बबरमहल, टेकु, चाबहिल, कीर्तिपुर र बसुन्धराबाट ग्यास बिक्रीको व्यवस्था मिलाएको थियो। 

निगमले अति आवश्यक भएका उपभोक्तालाई मात्र बिहान १० बजेदेखि साँझ ६ बजेसम्म उपस्थित भएर ग्यास खरिद गर्न अनुरोध गरेपछि तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भिड लाग्यो। दिउसो परेको पानीमा भिज्दै लाइनमा बसिरहेका उनीहरू ग्यासको पर्खाइमा देखिन्थे।

ग्यास लिन पुगेका उपभोक्ताको संख्या बढ्दै गएपछि वितरण स्थलमा भीड व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। बबरमहलमा ग्यास लिन पुगेका मधुसूदन अधिकारीले आफू करिब ४५ मिनेटदेखि लाइनमा बसेको बताए। उनले यसअघि टेकु र साल्ट ट्रेडिङलगायतका स्थानमा ग्यास खोजे पनि सहज रूपमा पाउन नसकेको गुनासो गरे।

"टेकु गएँ, त्यहाँ पनि भीड थियो। साल्ट ट्रेडिङमा तीन दिनभन्दा अगाडि ग्यास नपाइने रहेछ। पसलमा पनि १२-१३ ठाउँमा सोधिसकेँ, सबै पसल बन्द गरेर बसेका छन्," अधिकारीले भने, "अब सरकारलाई के भन्नु ? जुन सरकार आए पनि यस्तै हो।"

उनका अनुसार ग्यास अभावका कारण दैनिक खाना पकाउनसमेत समस्या भएको छ। "अहिले जसोतसो ओभनमा उमाल्ने चिजहरू उमालेर खाइरहेको छु," उनले भने। त्यस्तै, छत्रबहादुर कार्कीले आफू करिब एक घण्टादेखि लाइनमा बसे पनि ग्यास नपाएको बताए। घरमा ग्यास सकिएपछि खाना पकाउन नसकेको उनको भनाइ छ।

"घरमा ग्यास अभाव भएर खाना पकाउन सकेका छैनौं। दालमोठ र चिउरा खाएर बसेको अवस्था छ," कार्कीले भने, "ग्यास नपाएर जनता भोकै बस्नुपर्ने अवस्था नआओस्।" 

अर्का उपभोक्ता किशोर श्रेष्ठले भने करिब दुई घण्टा लाइनमा बसेपछि ग्यास पाएको बताए। बिदाको दिन भएकाले ग्यास लिन आउने उपभोक्ताको संख्या धेरै भएको उनको भनाइ छ। "लामो समय लाइनमा बसेपछि ग्यास पाइयो । आज बिदाको दिन भएकाले ग्यास लिन आउनेको भीड धेरै छ," श्रेष्ठले भने, "ग्यास वितरण भइरहेको छ । बिस्तारै सहज अवस्था आउँछ भन्ने विश्वास गरौं।"

एलपी ग्यासको आपूर्ति नियमित हुन नसक्दा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पछिल्लो समय उपभोक्ताले अभाव र लामो लाइनको सामना गरिरहेका छन्। शनिबार बबरमहलमा गरिएको वितरणले तत्कालका लागि केही उपभोक्तालाई राहत दिए पनि ठूलो संख्यामा उपभोक्ता ग्यासको प्रतीक्षामा रहेका देखिन्थे।

साउन ३०, २०८३ शनिबार १८:४२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।