सरकार कामचलाउ भएको कोइरालाको दाबी, नयाँ पार्टी खोल्ने पक्षमा नरहेको स्पष्टोक्ति
काठमाडौं : वर्तमान सरकारलाई ‘कामचलाउ’को संज्ञा दिँदै नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले देशमा मध्यावधि निर्वाचनको सम्भावना रहेको औँल्याएका छन्।
शनिबार संस्थापन इतर राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीले राजनीतिक स्थायित्व र मध्यावधि निर्वाचनको सम्भावनाबारे सोधिएको प्रश्नमा कोइरालाले भने, "सम्भावना त किन रहँदैन, भइहाल्छ नि।"
सरकारले ठोस काम गर्न नसकेको भन्दै उनले भने, "उनीहरूको बहुमत छ, तर ठोस कुनै राम्रो काम गरेको जस्तो मलाई लाग्दैन। उनीहरूले कुनै नयाँ नीतिहरू पनि ल्याएका छैनन्। यसलाई एउटा कामचलाउ सरकार मात्र भन्न सकिन्छ।"
पार्टीको १५ औँ महाधिवेशन पूर्व सभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने कोइरालाको दाबी छ। पार्टी विभाजन उन्मुख रहेको बेलामा संस्थापन इतर पक्षको राष्ट्रिय भेला आयोजक समितिको संयोजक समेत रहेका उनले आफू नयाँ पार्टी खोल्ने पक्षमा नगरेको प्रस्टाए।
कांग्रेसलाई नै समयसापेक्ष परिमार्जन गर्दै लैजानुपर्नेमा जोड दिँदै उनले भने, "म अर्को पार्टी खोल्ने पक्षमा छैन, बिल्कुलै छैन।" यद्यपि, परिस्थिति बदलिएको खण्डमा आपसी छलफल र सहमतिबाट नयाँ नीति तथा नेतृत्वको विषयमा निर्णय लिइने उनको भनाइ थियो।
अदालतबाट विपक्षमा निर्णय आइहाले पनि सबै मिलेर छलफल गरी अगाडिको नीति तय गरिने उनले बताए। कोइरालाले भने, "मलाई लाग्छ, विपक्षमा आउन सक्ने सम्भावना कम छ। आयो भने त्यसपछि सोचौँला, अनि छलफल गरेर एउटा निर्णय गर्छौं।"
साउन ३०, २०८३ शनिबार १७:४२:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।