१० वर्षपछि इन्स्टाग्रामको ‘वर्डमार्क’ लोगो फेरियो, क्यामेरा आइकन भने उस्तै रहने

१० वर्षपछि इन्स्टाग्रामको ‘वर्डमार्क’ लोगो फेरियो, क्यामेरा आइकन भने उस्तै रहने

काठमाडौं : लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामले १० वर्षपछि आफ्नो ‘वर्डमार्क’ (अक्षरले बनेको लोगो) मा परिमार्जन गरेको छ।

मेटाको स्वामित्वमा रहेको कम्पनीले एपमा देखिने ‘Instagram’ लेखिएको फन्टलाई थप आधुनिक, सफा र स्पष्ट बनाएको हो।

इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले इन्स्टाग्राम र थ्रेड्समार्फत यो नयाँ डिजाइन सार्वजनिक गरेका हुन्।

उनका अनुसार कम्पनीको पुरानो पहिचानलाई जोगाउँदै समयसापेक्ष बनाउन १० वर्षपछि पहिलोपटक अक्षरको बनावटमा फेरबदल गरिएको हो।

नयाँ वर्डमार्कमा इन्स्टाग्रामको परिचित ‘स्क्रिप्ट’ (हातले लेखेजस्तो) शैलीलाई नै निरन्तरता दिइएको छ।

तर, अक्षरहरूको आकार, मोटाइ र संरचनामा सूक्ष्म परिवर्तन गरिएको छ। विशेषगरी अङ्ग्रेजी अक्षर ‘r’ को नयाँ डिजाइनले प्रयोगकर्ताको ध्यान तानेको छ।

इन्स्टाग्रामले यसअघि सन् २०१६ मा आफ्नो समग्र ब्रान्डिङमा ऐतिहासिक परिवर्तन गरेको थियो।

त्यसबेला कम्पनीले क्लासिक खैरो क्यामेरा र इन्द्रेणी रङको लोगो हटाएर अहिले प्रयोगमा रहेको गुलाबी ग्रेडियन्टसहितको क्यामेरा आइकन ल्याएको थियो।

नयाँ वर्डमार्क सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूबाट मिश्रित प्रतिक्रिया आएको छ। कतिपयले यसलाई निकै आकर्षक र आधुनिक भनेका छन् भने कतिपयले पुरानै डिजाइन राम्रो भएको भन्दै निराशा व्यक्त गरेका छन्।

यसपटक इन्स्टाग्रामको मुख्य क्यामेरा आइकनमा कुनै परिवर्तन गरिएको छैन। यो परिवर्तन एपभित्र र ब्रान्डिङमा देखिने लेखोट (वर्डमार्क) मा मात्र सीमित छ।

साउन ३०, २०८३ शनिबार १०:१४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।