होल्डिङ सेन्टरमा सारिएपछि ज्यानमा गुमाउने दोस्रो सुकुमबासी बने दुसाद, १२ घण्टापछि उतारिएको थियो शव

होल्डिङ सेन्टरमा सारिएपछि ज्यानमा गुमाउने दोस्रो सुकुमबासी बने दुसाद, १२ घण्टापछि उतारिएको थियो शव

भक्तपुर : सरकारले वैकल्पिक व्यवस्था नगरी घरटहरा भत्काएपछि विस्थापित भई भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका एक सुकुम्बासी मृत भेटिए।

निरन्तरको मानसिक तनाव र अनिश्चितताका बीच ४७ वर्षीय हीरालाल हजारा दुसाद बिहीबार बिहान १० बजे आफ्नै कोठामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।

घटना बिहानै सार्वजनिक भए पनि सरकारी अधिकारीहरू निकै ढिला गरी मात्रै घटनास्थल पुगेका थिए।

स्थायी बसोबासको सुनिश्चितता खोज्दै परिवार र अधिकारकर्मीले शव उठाउन नमानेपछि करिब १२ घण्टापछि राति १० बजे मात्र पोस्टमार्टमका लागि लगियो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारीकै उपस्थितिमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीले टेलिफोनमार्फत ‘लालपुर्जा दिन पहल गर्ने’ आश्वासन दिएपछि मात्र परिवार शव उठाउन सहमत भएका थिए।

यसरी पुगेका थिए बोडे
दुसाद तीन दिनअघि मात्रै आफ्नो गाउँबाट फर्किएका थिए।

सरकारले उपत्यकाका नदी किनारका बस्ती हटाउने क्रममा उनीहरूलाई सुरुमा कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखेको थियो। तर, गत असार २१ गते त्यहाँ पनि बाढी पसेपछि उनीहरूसहित अन्य परिवारलाई बोडे सारिएको थियो।

राष्ट्रिय मानव अधिकार आयोग र सम्बन्धित सरकारी निकायको ध्यानाकर्षण गराउँदै परिवारले १२ बुँदे मागपत्र बुझाएका छन्।

‘सरकारले बिना विकल्प उठीबास लगाउँदा प्रभावित परिवार लामो समयदेखि मानसिक दबाब र अनिश्चिततामा बाँच्न बाध्य छन्’, मागपत्रमा भनिएको छ।

ज्यानै फाल्नुपर्ने परिस्थिति कसरी सिर्जना भयो भन्नेबारे मानव अधिकार आयोग वा स्वतन्त्र न्यायिक समितिमार्फत अनुसन्धान गरी दोषी पदाधिकारीमाथि कारबाही हुनुपर्ने माग गरेका छन्।

मृतकलाई भूमि तथा आवास अधिकार आन्दोलनका ‘शहीद’ घोषणा गरिनुपर्ने र अन्तिम संस्कारको व्यवस्था राज्यले गर्नुपर्ने तथा परिवारलाई तत्काल राहत, दीर्घकालीन जीविकोपार्जनका लागि आर्थिक क्षतिपूर्ति र योग्यताका आधारमा परिवारका एक सदस्यलाई सरकारी वा सार्वजनिक संस्थानमा रोजगारीको माग पनि अघि सारिएको छ।

यसका अलावा बालबालिकालाई पूर्ण छात्रवृत्तिसहित निःशुल्क शिक्षा, परिवारको स्थायी बसोबासको ग्यारेन्टी र मानव अधिकार आयोगले होल्डिङ सेन्टरहरूको निष्पक्ष अनुगमन गर्नुपर्ने माग अघि सारिएको छ।

होल्डिङ सेन्टरमा यो दोस्रो मृत्यु
सरकारले गत वैशाख १२ गतेदेखि बागमती र यसका सहायक नदी किनारका बस्तीहरूमा उचित व्यवस्थापनको प्रक्रिया नै पूरा नगरी डोजर आतंक मच्चाउँदा सयौं परिवार विस्थापित भएका थिए।

होल्डिङ सेन्टरमा राखिएपछि ज्यान गुमाउने विस्थापितहरूमा दुसाद दोस्रो हुन्।

यसअघि कीर्तिपुर होल्डिङ सेन्टरमा बस्दै आएका भेषराज दर्जीले ज्यान गुमाएका थिए। समयमै उपचारका लागि सरकारी अधिकारीहरू समक्ष गरिएको आग्रहलाई बेवास्ता गर्दा र ढिलो गरी अस्पताल पुर्याउँदा उनले ज्यान गुमाएका थिए।

अहिले पनि काठमाडौं र भक्तपुरका तीनवटा सरकारी होल्डिङ सेन्टरमा तीन सयभन्दा बढी सुकुम्बासीहरू कष्टकर जीवन बिताइरहेका छन्।

यता, होल्डिङ सेन्टर व्यवस्थापनको जिम्मा पाएको ‘अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति’ले भने घटनाबारे बोल्न पन्छिएको छ।

समितिका सूचना अधिकारी टोपबहादुर बानियाँले घटना प्रहरी अनुसन्धानको क्रममा रहेकाले यसबारे अहिले केही बोल्न नमिल्ने बताए।

साउन ३०, २०८३ शनिबार ०७:५०:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।