कांग्रेस विभाजित मनस्थितिबाट गुज्रिरहेको शेखरको स्वीकारोक्ति, देशका लागि एकढिक्का हुन आग्रह
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकको अस्तित्व र राष्ट्रियतामाथि गम्भीर संकट उत्पन्न भएको औँल्याउँदै त्यसको सामना गर्न पार्टीभित्रको आन्तरिक एकता अपरिहार्य रहेको बताएका छन्।
शुक्रबार कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिका कारण देशको सार्वभौमसत्ता र लोकतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको दाबी गरे। देश किन यस्तो संकटपूर्ण घडीमा आइपुग्यो भन्नेबारे आत्मसमीक्षा गर्नुपर्ने समय आएको उनको भनाइ थियो।
"अहिले देशको अवस्था अत्यन्त संकटग्रस्त अवस्थामा छ। देशको अस्तित्व खतरामा छ। देशको राष्ट्रियता खतरामा छ। यो किन भइरहेको छ भन्ने कुरा हामीले बुझ्न जरुरी छ," कोइरालाले भने।
सधैँ सबै पक्षलाई समेटेर अघि बढ्ने नीति कांग्रेसले लिएको चर्चा गर्दै उनले पार्टीले कुनै पनि स्वरूपको निरंकुशता स्वीकार नगर्ने प्रष्ट पारे। कांग्रेसको मूल चरित्र नै सबैलाई मिलाएर लैजाने र लोकतन्त्रको रक्षा गर्ने भएको कोइरालाको भनाइ थियो।
"नेपाली कांग्रेस मात्र एउटा यस्तो पार्टी हो, जसले सबैलाई सधैँ मिलाएर हिँडिरहेको पार्टी हो। हामी कुनै किसिमको निरंकुशता स्वीकार गर्दैनौं। कसैको निरंकुशता नस्वीकार्ने पार्टी हो हाम्रो," उनले भने।
कांग्रेस अहिले विभाजित मानसिकताबाट गुज्रिरहेको उल्लेख गर्दै उनले राष्ट्रिय आवश्यकताका लागि पार्टी एकढिक्का हुनुको विकल्प नरहेको धारणा राखे। "नेपाली कांग्रेस अहिले विभाजित मनस्थितिबाट गुज्रिरहेको छ। मलाई विश्वास छ, नेपाली कांग्रेस एकढिक्का हुन जरुरी छ र हुन्छ भन्ने कुरामा पनि म विश्वस्त छु। देशका निम्ति एकढिक्का हुन जरुरी छ," कोइरालाले भने।
कांग्रेसभित्र सुदृढ एकता कायम भएपछि मात्र अन्य राजनीतिक दल र शक्तिहरूसँग सहमति, सहकार्य र एकताको मार्ग प्रशस्त हुने कोइरालाको भनाइ छ। मुलुकमा राजनीतिक दलबाहेक अन्य शक्तिहरूको पनि उपस्थिति रहेको भन्दै उनले राष्ट्रियता मजबुत बनाउन सबै पक्षसँग सहकार्य गर्नुपर्नेमा जोड दिए।
"कांग्रेस एकढिक्का हुने बित्तिकै अन्य दल र शक्तिहरूसँग सहकार्य गरेर अघि बढ्न सहज हुन्छ," कोइरालाले भने, "यदि हामीले सबै पक्षलाई समेटेर राष्ट्रियता मजबुत बनाउन सक्यौं भने नेपाली कांग्रेसको भविष्य मात्रै होइन, देशको भविष्य नै उज्ज्वल हुन्छ भन्ने मलाई लाग्छ। प्रजातन्त्र भनौं, लोकतन्त्र भनौं अहिले अप्ठ्यारो परिस्थितिमा छ।"
साउन २९, २०८३ शुक्रबार २३:०८:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।