जेनजी आन्दोलनमा कारागारबाट भागेका तीन हजार बढी कैदी-बन्दी भेटिएनन्

जेनजी आन्दोलनमा कारागारबाट भागेका तीन हजार बढी कैदी-बन्दी भेटिएनन्

काठमाडौं : जेनजी आन्दोलनकोक्रममा भदौ २४ मा विभिन्न कारागारबाट भागेका तीन हजार भन्दा बढी कैदी/बन्दीहरू अझैँ फेला परेका छैनन्। आन्दोलनकाक्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निस्किएपछि देशभरका कारागारमा रहेका कैदी-बन्दीहरू बाहिरिएका थिए।

नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्कीले शुक्रवार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा दिएको जानकारी अनुसार भदौ २४ पछि देशभरका कारागारबाट १३ हजार ५ सय ८९ जना कैदी/बन्दी फरार भएका थिए। 

“जेनजी आन्दोलनकाक्रममा विभिन्न कारागारहरूबाट फरार रहेका तीन हजारभन्दा बढी व्यक्तिहरू अहिले पनि स्वदेश तथा विदेशमा फरारै छन्। उनीहरू फरारै रहने जोखिम पनि छ। यो संख्या भनेको ठूलो हो” कार्कीले भने।

यसरी फरार रहेकाहरूमध्ये प्रहरीले अपराध अनुसन्धान गरेको बाहेक अपराध अनुसन्धान गर्ने अन्य सरकारी निकायले मुद्दा प्रक्रिया अगाडि बढाएकाहरू पनि फरार रहेको तर उनीहरूको विवरण प्रहरीसँग नभएको आइजिपी कार्कीले बताए।

सम्पत्ति शुद्धीकरण विभाग, वन विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, वैदेशिक रोजगार विभाग जस्ता अनुसन्धान गर्ने निकायले मुद्दा चलाएकाहरूको विवरण प्रहरीसँग नभएको उनले समितिमा बताए। प्रहरीले पटक पटक ती विवरणहरू माग्दा नआउँदा प्रहरीमा रहेको सिआरएस (अपराध तथ्याङ्क प्रणाली) मा रेकर्ड नरहेको भन्दै उनले भने “ उनीहरू पनि भागेको अवस्थामा झुक्क्याएर कतै प्रहरी रिपोर्ट पो बन्ने हो कि भन्ने जोखिम रहेको छ।

अपराध तथ्याङ्क एकीकृत गर्न अनुसन्धान गर्ने अन्य निकायहरूसँग रहेको अपराधको तथ्याङ्क मागिरहेको तर अहिलेसम्म नआएको। वैदेशिक रोजगार विभागले केही समयमा दिने बताएको।

साउन २९, २०८३ शुक्रबार २२:१८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।