विभाजित कांग्रेसमा एकताको अलाप

काठमाडौं : गाली, आरोप प्रत्यारोप अनि आफ्नै समूह बलियो र लोकप्रिय रहेको दाबीहरू। मञ्चमा उही शेरबहादुर देउवा, शशाङ्क कोइराला, शेखर कोइराला, कृष्ण सिटौला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह अनि विजयकुमार गच्छदार। युवा शून्य बराबर तर दाबी परिवर्तनको। नेताका मुखमा एकता शब्द छुटेको छैन। तर व्यवहार र सक्रियता गुटगत भेला र शक्ति प्रदर्शनको छ। नेपाली कांग्रेसमा अहिले यस्तै रमाइला गतिविधिको माहोल छ।

निर्वाचनमा मत हाल्ने नागरिक अधिकारसम्म पुरा नगरी उपचार भनेर सिंगापुर गएर हंगकंगमा पाँच महिना बसेर बिहीबार शेरबहादुर देउवा स्वदेश फर्किए। अनि उनैलाई प्रमुख अतिथी बनाएर संस्थापन इतर समूहले शक्ति प्रदर्शन गर्न शुक्रवार सुकेधाराको मिराकल पार्टी प्यालेसमा राष्ट्रिय भेला आयोजना गर्यो। 

भेलामा केही नेताले एकता भने पनि अधिकांश नेताहरू भने विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गरेको गगन थापा समूहलाई गाली गर्नमै केन्द्रित भए। यसरी गुटगत भेला गरेर अनि अर्को समूहका नेताहरूलाई सार्वजनिक मञ्चबाट गाली गरेर पार्टी एकता हुन्छ त?

OOO

शुक्रवारबाट सुरु भएको नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा भेला आयोजक समितिका संयोजक डा.शशाङ्क कोइरालाले शेरबहादुर देउवाको खुब प्रशंसा गरे। भेलामा डा. कोइरालाले बीपीले देउवालाई पश्चिमको राजकुमार भन्ने गरेको दाबी गरे।

निर्वासनको समयमा वीपी कोइराला भारतमा रहेको बेलामा देउवा त्यहीँ आएको र आफूले उनलाई घुमाएको प्रशंग सुनाए।

"उहाँ भारतमा आएको बेलामा मलाई बाबाले घुमाउन अह्राउनुभयो। मैले बाबाको आदेशअनुसार उहाँलाई घुमाउने काम गरेको थिएँ। शेरबहादुरजीसँग मेरो पहिलो परिचय त्यहीँ भएको हो।"

भेलामा उनले देउवासँगको पहिलो भेटको प्रशंग पनि थपे। 

गुटगत भेलाको मुख्य आयोजक बनेका उनले देउवा नेपाल आएपछि भेला पूर्ण सफल हुने पक्का भएको मात्र भनेनन् उनले शेरबहादुर नै आफ्नो सभापति रहेको घोषणासम्म गरे। बिपी पुत्र शशाङ्कको प्रशंसा सुनेर मञ्चमा देउवा गमक्क परेर बसिरहेका थिए।

शशाङ्कले पार्टीको १४ औँ महाधिवेशनमा कतै खुल्दिन भन्ने बहाना बनाएर पार्टी सभापतिको प्रतिस्पर्धामा शेखर कोइरालालाई असहयोग गर्दै देउवालाई पार्टी सभापति बनाउन भूमिका निभाएका थिए।

उनी मात्रै हैन मञ्चमा बसेका स्वयम् शेखर बाहेक बाँकी सबैले देउवालाई सभापति बनाउन सहयोग गरेका थिए। पार्टीको विधानले १५ औँ महाधिवेशनमा देउवालाई सभापति बन्न रोक्ने भएपछि शुक्रवार मञ्चमा रहेका विजयकुमार गच्छदार अनि शेखर बाहेक सबै नेताहरू देउवाको उत्तराधिकारी हुने प्रतिस्पर्धामा थिए। 

यता १४ महाधिवेशनमा एकै समूहबाट सभापति र महामन्त्रीमा प्रतिस्पर्धा गरे पनि १५ औँ महाधिवेशनमा गगन थापा अनि शेखरसमेत सभापतिको उम्मेदवार बन्ने तयारीमा थिए।

देउवा समूहको उत्तराधिकारीका रूपमा पूर्णबहादुर खड्कालाई हेरिए पनि सधैँ देउवाको विपक्षी समूहको नेता बनेका शशाङ्क पनि प्रतिस्पर्धामा थिए। देउवाको कार्यकालमै महामन्त्री बनेका शशाङ्क आशावादी पनि देखिएका थिए।

तर २०८२ भदौ २३ र २४ को जेनजी पुस्ताको आन्दोलनले सबैको रणनीति चकनाचुर बनायो। अब देउवाको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने भन्दै शेखरसहित गगन समूहले विशेष महाधिवेशनको माग गरे। अब आफ्नो नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने स्वीकार गर्दै देउवा सेरेमोनियल सभापति बन्दै पूर्णबहादुर खड्कालाई कार्यवाहक दिएर बसे।

विशेष महाधिवेशन टार्न नियमित महाधिवेशनको रणनीति बन्यो। तर फागुन २१ को निर्वाचनपछि। त्यसपछि नै गगन थापा, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, प्रदीप पौडेल लगायतका युवाहरू मिलेर विशेष महाधिवेशन गरेर गगनको नेतृत्वमा पार्टीको नयाँ नेतृत्व चयन गरे।

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएपछि अहिले इतर समूहमा लागेका नेताहरू लुरुलुरु टिकट लिएर उम्मेदवार बने। टिकट नपाएका देउवा विदेश हान्निए, पूर्णबहादुर, शशाङ्क, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरू निर्वाचन अवधिभर निष्क्रिय बसेर रमिता हेरे।

सर्वोच्च अदालतबाट समेत विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेपछि १५ औँ नियमित महाधिवेशनमा सहभागी हुन निरन्तर गगन थापा समूहसँग बार्गेनिङमा सक्रिय बनेका उनीहरू सर्वोच्च अदालतबाट फैसला पुनरावलोकनको आदेशपछि हौसिए। त्यसमा शेरबहादुर देउवा समेत मिसिए पछि त दङ्ग पर्ने नै भए।

विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले पुन मान्यता पाउँछ वा फैसला उल्टिएर शेरबहादुर देउवाकै कार्यसमिति कायम हुन्छ त्यो त सर्वोच्चको फैसला नआई के नै भन्न सकिन्छ र।  तर फैसला अगाडिका दृश्यहरूले देखाएको भावी कांग्रेस जुटेको देखिंदैन।

सर्वोच्चबाट देउवा समूहमा पार्टीको नाम र चिन्ह फर्किए गगन थापाहरुले अलग बाटो समात्ने सम्भावना देखिन्छ। फैसला सदर भए इतर समूहले  तयारी गरेको नयाँ दल दर्ता हुने सम्भावना बलियो देखिन्छ।

अहिले गगन-विश्वप्रकाश शर्मा अनि उता शेखर अनि पूर्णबहादुरबीच पुलको काम गर्ने अभिभावक नभएर कुरा नमिलेको जस्तो देखिन्छ पनि। शेरबहादुर देउवा फर्किएपछि उनले नै त्यो भूमिका निभाउने अनि पार्टी एक बनाउने संस्थापनइतर समूहमा मात्र हैन विशेष महाधिवेशनबाट नेतृत्वमा आएका महामन्त्री प्रदीप पौडेलमा पनि आस देखियो। उनले सार्वजनिक कार्यक्रममै यस्तो आशा व्यक्त गरेका थिए।

देउवा स्वदेश फर्किएर गगन वा शशाङ्क कुनै समूहतिर नखुली, विशेष भेला रोकेर संवादको तयारी गरेको भए उनी दुबै समूहको अभिभावक हुने सम्भावना नभएको हैन। प्रत्यक्ष रुपमा संस्थापन इतर समूहको संरक्षकको रुपमा खुलेकाले उनी पनि एक समूहकै नेता भए।

तर निर्वाचनमा भोटसम्म नहाली विदेश गएका शेरबहादुरले हंगकंगमा के के न बहादुरी र उपलब्धिमूलक काम गरेर फर्किएझैँ गरेर बिहीबार इतर समूहले गरेको स्वागतको तामझाम, सिधै इतर समूहको सम्पर्क कार्यालयमा गएर देउवाले गरेको सम्बोधन अनि शुक्रवार इतर समूहकै भेलाको अभिभावकत्व गर्ने देउवाको भूमिकाले उनी दुवै समूहको अभिभावक नभई इतर समूहको संरक्षक बनिसकेका छन्।

अब एक समूहको अभिभावकको रूपमा खुलिसकेपछि केको एकता संयोजन? के को अभिभावक ? न गगन न संस्थापनइतर समूह, दुबैबीच नीति र सिद्धान्तको विमति हैन। दुवै समूहको समस्या इगोको हो। इगोको कुनै ओखती हुन्न।

नेताहरूको व्यवहारले संस्थापनइतर समूह विशेष महाधिवेशनको नेतृत्व स्विकार्नै नसक्ने अवस्थामा पुगिसकेको देखिन्छ। अनि गगन थापा समूहको व्यवहार 'तिमीहरू पार्टीमा नभए पनि फरक पर्दैन' भन्ने तहकै देखिन्छ।

एमाले अध्यक्ष केपी ओलीले गर्ने सार्वजनिक सम्बोधननका अधिकांश विषय हल्का हुने गरे पनि कहिलेकाहीँ भने ट्वाक्कै भविष्यवाणी नै गरिदिन्छन्।

उनले भविष्यवाणी गर्दिसके ‘कांग्रेस फुटिसक्यो’

अब बाँकी खबर

२- पत्रकार किशोर र जफत सामग्री अदालतमा ल्याउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठ र उनको घर र कार्यालयबाट जफत गरिएका सामाग्रीसहित अदालतमा उपस्थित हुन सरकारको नाममा आदेश जारी गरेको छ। श्रेष्ठको श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै भदौ १ गते १० बजे श्रेष्ठ, जाहेरी,अनुसन्धान फाइल र उनको घर र कार्यालयबाट जफत सामग्रीसहित अदालतमा उपस्थित हुन आदेश दिएको हो।

सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरबारे समाचार प्रकाशित गरेर वैयक्तिक गोपनीयता हनन गरेको आरोपमा दायर भएको जाहेरीको आधारमा प्रहरीले बुधवार श्रेष्ठलाई पक्राउ गरेको थियो। 

३- जापानी  जापनिज इन्सेफलाइटिस  सङ्क्रमणको जोखिम

नेपालमा जापनिज इन्सेफलाइटिस भाइरसको सङ्क्रमणको जोखिम बढेको छ। वैशाख महिनायता मात्र जापनिज इन्सेफलाइटिस भाइरसको सङ्क्रमणबाट चार पुरुष र नौ महिला गरी १३ जनाको जनाको मृत्यु भइसकेको छ।

जापनिज इन्सेफलाइटिस भाइरसको सङ्क्रमणले सन् २०२३ मा २० जना, २०२४ मा २८ र २०२५ मा ४१ जनाको  मृत्यु भएको थियो। बर्सेनि मृतकको संख्या बढिरहेको यो तथ्यले कुनै पनि बेला नेपालमा जापानीज इन्सेफलाइटिस भाइरसको सङ्क्रमणले उग्र रूप लिन सक्ने जोखिम देखिन्छ।

४- जेनजी आन्दोलनको मुद्दा फिर्ताको तयारी

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका क्रममा दर्ता भएका मुद्दा फिर्ताको प्रक्रिया गम्भीरतापूर्वक अघि बढाइने बताए। निर्दोषलाई पूर्वाग्रह वा प्रतिशोधका आधारमा मुद्दामा पार्न नहुने भन्दै उनले जघन्य अपराधका मुद्दामा कसैलाई पनि छुट नहुने दाबी गरे।

गुरुङ आफैँ जेनजी आन्दोलनमा भएको हिंसात्मक घटनामा संलग्न देखिएको भन्दै थप अनुसन्धानका लागि राष्ट्रिय मानव अधिकार आयोगले छानबिन गर्न सरकारलाई सिफारिस गरेका व्यक्ति हुन्।

५- धवलको पार्टीको नाम जय नेपाल पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेर दुर्गा प्रसाईँसँग सहकार्य सुरु गरेका डा. धवलशमशेर राणाले आफ्नै नेतृत्वमा ‘जय नेपाल पार्टी’ दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। ७९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने गरी दर्ताका लागि निवेदन दिइएको पार्टीको निर्वाचन चिन्ह ‘त्रिभुज’ राखिएको छ। 

साउन २९, २०८३ शुक्रबार २२:०८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।