देउवालाई विश्वप्रकाशको सुझाव : ‘सबैको कुरा सुन्नुहोस्, परिवर्तनलाई आत्मसाथ गर्नुहोस्’
काठमाडौं : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस विगतभन्दा पृथक शैली र नयाँ अभियानका साथ अघि बढिरहेकोले यस अभियानलाई आत्मसात गर्न पार्टीका नेता-कार्यकर्तालाई आह्वान गरे।
शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकअघि उनले कांग्रेस अब विधि, पद्धति र प्रक्रियामार्फत परिवर्तनको नयाँ अध्यायमा प्रवेश गरिसकेको उल्लेख गरे।
शर्माले भने, "कांग्रेस विगतमा भन्दा पृथक ढंगले काम गरिरहेको छ। यो यथार्थलाई आज सुरु भएको राष्ट्रिय भेलाका प्रत्येक साथीहरूले पनि मनन गर्न जरुरी छ।"
निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि कांग्रेसले स्वागत गरेको स्मरण गर्दै उनले देउवाबाट पार्टीका सबै नेता-कार्यकर्ताको कुरा सुन्ने प्रतिबद्धताको अपेक्षा गरिएको बताए। देउवाले लिखित अभिव्यक्तिमार्फत परिवर्तनलाई आत्मसात् गर्ने र युवालाई अगाडि बढाउने विषय उल्लेख गरेको भन्दै शर्माले आगामी सम्मेलनमा पनि त्यसलाई केन्द्रमा राख्नुपर्ने बताए।
"हाम्रो अपेक्षा थियो, निवर्तमान सभापतिले बोल्दै गर्दा भनिदिनुपर्ने थियो, म लामो समयपछि देश फर्केको छु, सबैको सुन्न चाहन्छु। यद्यपि, लिखित अभिव्यक्ति आएको छ। परिवर्तनलाई आत्मसाथ गर्न चाहन्छु र युवा अगाडि बढाउने कुरा गर्नुभएको छ। राष्ट्रिय सम्मेलनले पनि त्यो कुरालाई केन्द्रमा राखोस्," उनले भने।
शर्माले वर्तमान सरकार असफल होस् भन्ने कांग्रेसको चाहना नरहेको बताए। नयाँ सरकारको नीति तथा कार्यक्रम असफल हुँदा त्यसले समाजमा निराशा ल्याउने भएकाले कांग्रेसले प्रतिनिधिसभामा अवरोध गरे पनि राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित गर्न सहयोग गरेको उनले स्मरण गरे।
शर्माले भने, "सरकारको असफलता हामी चाहँदैनौं। सामान्यतया प्रतिपक्षीको स्वरबाट सुनिँदै गर्दा सरकारको असफलताको अपेक्षा हुन्छ। तर यही कांग्रेस पार्टीले प्रतिनिधिसभामा उभिएर प्रधानमन्त्रीको खोजी गर्दै सरकारको नीति तथा कार्यक्रम पारित गर्ने बेला अवरोध गरिरहेको अवस्थामा त्यही दिन राष्ट्रिय सभामा उभिएर कांग्रेस पार्टीले सरकारको नीति तथा कार्यक्रम पारित गर्न सघाएको थियो।"
साउन २९, २०८३ शुक्रबार १७:३२:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।