तस्बिरमा हेर्नुहोस् तनावपछिको कप्तानगञ्जको अवस्था
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा साउन १० गते राति भएको स्थानीय विवादलाई सम्बोधन गर्न सरकारी पहलकदमी लिन ढिलाइ हुँदा केही दिन कप्तानगञ्जसहित तराईं-मधेसका केही जिल्लाको माहोल अशान्त बन्यो। स्थिति नियन्त्रणमा लिन यहाँ कर्फ्यु लगाइएपछि नेपाली सेनासहित राज्यका सुरक्षा निकाय परिचाल गरियो।
स्थानीय विवाद हुँदा चलेको गोली लागेर कप्तानगञ्जका तीन जनाको मृत्यु भयो। कप्तानगञ्जबाट सुरु भएको विवाद उग्र बनेपछि मधेस प्रदेशका केही जिल्लासम्म फैलिएको थियो। सोही घटनालाई लिएर सिराहाको गोलबजारमा प्रदर्शन हुँदा थप एक जनाको गोली लागेर मृत्यु भएको थियो।

घटनाको पाचौं दिनमा मात्र सरकारको सक्रियता देखायो। प्रधानमन्त्री वालेन्द्र साहको सम्बोधन, गृहमन्त्री सुधन गुरुङको स्थलगत प्रयास र राजनीतिक दलहरूको सामूहिक प्रयासपछि स्थिति बिस्तारै सामान्य वातावरणतर्फ फर्किएको थियो। पीडित परिवारसँगको सहमति अनुरूप सरकारले घटनाका मृतकलाई सहिद घोषणा गरिसकेको छ।

तर, यहाँको मोहोलबारे भने चिन्ता व्यक्त भइरहेको छन्। प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले 'आगो निभेको मात्र हो, दाउरा निभेको छैन' भनेर सरकारलाई सचेत रहन आग्रह गरेका थिए। उकेराकर्मी अमृत पुडासैनी कप्तानगञ्ज पुग्दा त्यहाँ सुरक्षाकर्मीको तैनाथी देखियो।

स्थानीयका अनुसार रातिको समयमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कप्तानगञ्जमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले गस्ती गरिरहेका छन्।

साउन २९, २०८३ शुक्रबार १७:५६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।