चार करोड ठगीको मुद्दामा एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान

चार करोड ठगीको मुद्दामा एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान

जनकपुरधाम : दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा धितो राखेर ठगी गरेको अभियोगमा धनुषा जिल्ला अदालतले जनकपुरधामको एक परिवारका तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

धनुषका विभिन्न व्यक्तिहरूले दिएको अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका- १६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनका श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहलाई यही साउन १ गते पक्राउ गरेको थियो।

साह परिवारले दृष्टिबन्धकमा राखिएको जग्गा बैंकमा राखेर चार करोड ठगी गरेको आरोप छ। सो मुद्दासम्बन्धी धनुषा जिल्ला अदालत जनकपुरधाममा भएको थुनछेक बहसपश्चात् अदालतका न्यायाधीश हिरामाया अवालको इजलासले तीनै जनालाई पुर्पक्षमा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी हेमकुमार महतोले जानकारी दिए।

उनका अनुसार नौ जनाको मुद्दामध्ये छ वटा मुद्दामा बहस सकेर पुर्पक्षका लागि तीनै जनालाई कारागार पठाउने आदेश भएको र थप तीन वटा मुद्दामा शुक्रबार पनि सुनवाइ भइरहेको छ। 

अदालतको आदेशसँगै पुर्पक्षका लागि गोपाल र उनका छोरा हरेरामलाई महोत्तरी कारागार तथा रेखा साहलाई सिन्धुली कारागार पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए।

साउन २९, २०८३ शुक्रबार १५:४४:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।