‘त्रिभुज’ चिन्हसहित धवलशमशेरले दर्ता गराए ‘जय नेपाल पार्टी’

‘त्रिभुज’ चिन्हसहित धवलशमशेरले दर्ता गराए ‘जय नेपाल पार्टी’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्व महामन्त्री डा. धवलशमशेर राणाले आफ्नै नेतृत्वमा नयाँ पार्टी दर्ता गराएका छन्। राणाले शुक्रबार निर्वाचन आयोग पुगेर ‘जय नेपाल पार्टी’ दल दर्ता गराएका हुन्।

७९ सदस्यीय केन्द्रीय कार्यसमिति रहने गरी दर्ता गरिएको पार्टीको निर्वाचन चिन्ह ‘त्रिभुज’ राखिएको छ। पार्टीको झण्डा सेतो रङको हुने र त्यसमा त्रिभुज चिन्ह अङ्कित रहने जानकारी दिइएको छ।

यसअघि मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंसँग मिलेर पार्टी खोल्ने गृहकार्य भए पनि अन्तिम समयमा उनीहरूबीच सहमति जुट्न सकेन। शक्ति बाँडफाँटको विषयमा कुरा नमिलेपछि प्रसाईंको संलग्नताबिना नै राणाले पार्टी दर्ता प्रक्रिया अघि बढाएका हुन्।

विशेषगरी राजसंस्था पुनः स्थापनाको मुद्दालाई लिएर दुई नेताबीच मतभेद देखिएको बताइएको छ। पार्टीको मुख्य एजेण्डा राजसंस्थाको पुनः स्थापना हुनुपर्ने अडान प्रसाईंको रहेको तर, राणाले उक्त एजेण्डालाई स्वीकार गर्न नसकिने बताएपछि उनीहरू अलग बाटो लागेको बताइएको छ। 

शुक्रबार पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगेका राणासँग प्रसाईं देखिएनन्। राप्रपाको महामन्त्री रहिसकेका राणाले पार्टी नेतृत्वसँग वैचारिक र संगठनात्मक संरचनामा कुरा नमिलेपछि पार्टी परित्याग गरेर प्रसाईंसँग सहकार्य गरी नयाँ पार्टी गठनको गृहकार्य सुरु गरेका थिए। 

साउन २९, २०८३ शुक्रबार १४:२२:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।