राति २ बजेदेखि मोदी खोलाको बाढीमा फसेका तीन जनाको बिहान सकुशल उद्धार
पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित मोदी खोलाको बीच भागमा रहेको अन्नपूर्ण माता मन्दिरमा बाढीका कारण फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
अन्नपूर्ण गाउँपालिका-५ र ६ को सीमानामा पर्ने उक्त मन्दिरमा अविरल वर्षासँगै मोदी खोलामा आएको भीषण बाढीले आवतजावत गर्ने दुईवटा फलामे पुल बगाएको थियो।
बाढीले मन्दिरको आधा भागसमेत कटान गरेपछि मन्दिरभित्र रहेका १ जना पुजारीसहित अन्य दुई जना त्यहाँ अलपत्र परेका थिए।
घटनाको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको विशेष विपद् व्यवस्थापन टोली राति साढे २ बजे नै घटनास्थल पुगेको थियो।
तर, रातको समय, लगातारको वर्षा र खोलाको तीव्र बहावका कारण रातमा उद्धार गर्न सम्भव भएको थिएन। त्यसपछि टोलीले शुक्रबार बिहान डोरीको सहायताले ‘रोप रेस्क्यु’ विधि अपनाई तीनै जनालाई सकुशल उद्धार गर्न सफल भएको हो।
उद्धार गरिएकाहरूमा पोखरा महानगरपालिका-१८, सराङकोट घर भएका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका-८ बस्दै आएका ३० वर्षीय रेवन्त प्रसाद सिंह र भारतका ५० वर्षीय निर्माण गिरी रहेका छन्।
उद्धार गरिएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिएका छन्।
साउन २९, २०८३ शुक्रबार १०:३२:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।