पत्रकारिताको नाममा महिलाको चरित्रहत्या रोक्न नियमन जरुरी, किशोर श्रेष्ठको परिवारमाथिको आक्रमण गलत : महिला आयोग अध्यक्ष
काठमाडौं : ‘जनआस्था’ साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरण र प्रेस स्वतन्त्रताको विषयलाई लिएर चौतर्फी बहस भइरहेका बेला राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले पत्रकारिता र सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने प्रवृत्तिको कानुनी नियमन हुनुपर्ने धारणा राखेकी छन्।
यद्यपि, अनुसन्धानका नाममा विधिको शासन उल्लङ्घन हुन नहुने र आरोपित व्यक्तिका परिवारका सदस्यहरूलाई लाञ्छित गर्ने कार्य रोकिनुपर्नेमा पनि उनले जोड दिएकी छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष पराजुलीले सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सार्वजनिक जीवनमा रहेका महिलाहरू निरन्तर हिंसा र चरित्रहत्याको सिकार भइरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेकी हुन्।
‘पुरुषलाई उन्मुक्ति, महिलाको जीवन तहसनहस’
अध्यक्ष पराजुलीले पितृसत्तात्मक सोचका कारण यौन र आचरणका विषयमा पुरुषलाई समाजले सहजै स्वीकार्ने तर महिलाको हकमा भने व्यक्तिगत तथा सामाजिक जीवन नै ध्वस्त बनाइने दोहोरो मापदण्ड रहेको उल्लेख गरेकी छन्।
‘कोही पुरुषका कारण पीडित भएकी महिला छिन् भने पनि आरोपित पुरुषसँग नाम जोडिएर भाइरल भएपछि पुरुषलाई समाज र परिवारले अस्वीकार गर्दैन,’ पराजुलीले लेखेकी छन्, ‘तर महिलाको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवन नै तहसनहस हुने र आत्महत्यासम्म पुग्ने अवस्था सिर्जना हुन्छ।’
राज्यको उपल्लो तह (राष्ट्रपति, सभामुख, मन्त्री, सांसद) देखि स्थानीय तहका वडा सदस्य र स्वास्थ्य स्वयंसेविकासम्मका महिलाहरू कुनै न कुनै रूपमा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट हुने हिंसाको सिकार भइरहेको उनको भनाइ छ।
‘म आफैँ पनि जनआस्थाबाट पीडित भएँ’
आयोग अध्यक्ष पराजुलीले आफू स्वयं पनि ‘जनआस्था’ लगायतका सञ्चारमाध्यममा प्रकाशित कपोलकल्पित र भ्रामक समाचारबाट पीडित हुनुपरेको अनुभव सुनाएकी छन्।
‘मेरो बारेमा प्रकाशित समाचार पूर्णतः कपोलकल्पित, भ्रमपूर्ण र निराधार थियो। मैले प्रेस काउन्सिलमा पत्राचार गरेँ, सम्पादकलाई आपत्ति जनाएँ, तर कुनै चित्तबुझ्दो जवाफ वा खण्डन आएन,’ उनले लेखेकी छन्, ‘समाचारको स्रोत देखाउनु नपर्ने सुविधाको दुरुपयोग गर्दै मनपरी ढङ्गले हुर्मत लिने काम भइरहेको छ।’
उनले प्रेस काउन्सिललाई कानुन र प्रणालीमार्फत बलियो बनाएर यस्ता विकृति रोक्न नियमन र अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएकी छन्।
किशोर श्रेष्ठको परिवारमाथि भइरहेको आक्रमणप्रति आपत्ति
कुनै पनि घटनाको अनुसन्धान गर्दा मानव अधिकार, लोकतन्त्र र विधिको शासनको सम्मान हुनुपर्नेमा जोड दिँदै उनले प्रतिशोधपूर्ण व्यवहार गर्न नहुने बताएकी छन्।
यसै क्रममा उनले पक्राउ परेका सम्पादक किशोर श्रेष्ठका परिवारका सदस्यमाथि सामाजिक सञ्जालमा भइरहेको दुर्व्यवहारप्रति कडा आपत्ति जनाएकी छन्।
‘कोही व्यक्ति आरोपित हुँदैमा उसको परिवारका सदस्य समेतको चरित्रहत्या गरिनु, आक्षेप लगाइनु र लाञ्छित गरिनु अर्को अपराध हो,’ उनले भनेकी छन्, ‘अहिले किशोर श्रेष्ठकी पत्नी, बहिनी र छोरीको समेत चरित्रहत्या गर्ने, आत्मसम्मानमा आँच पुग्ने भिडियोहरू आइरहेका छन्, यसतर्फ सरकारको गम्भीर ध्यानाकर्षण होस्।’
एक महिलाको ‘वैयक्तिक गोपनीयतासम्बन्धी कसुर’मा परेको जाहेरीका आधारमा प्रहरीले बुधबार साँझ सम्पादक किशोर श्रेष्ठलाई ललितपुरबाट पक्राउ गरेको थियो।
लगत्तै मध्यरातमा उनको निवास र बिहीबार बिहान सानेपास्थित ‘जनआस्था’को कार्यालयमा पुगेर प्रहरीले कम्प्युटर, ल्यापटप र विद्युतीय उपकरणहरू जफत गरेको थियो।
साउन २९, २०८३ शुक्रबार १०:१६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।