पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति कांग्रेसको आपत्ति : प्रेसमाथि प्रतिशोध स्वीकार्य नहुने चेतावनी

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति कांग्रेसको आपत्ति : प्रेसमाथि प्रतिशोध स्वीकार्य नहुने चेतावनी

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पत्रकार किशोर श्रेष्ठको मध्यरातमा भएको गिरफ्तारी र पत्रिकाको कार्यालयमा गरिएको खानतलासीको घटनाप्रति आपत्ति जनाएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टी सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले संवैधानिक विधि र स्थापित प्रक्रियालाई पन्छाएर पत्रकार पक्राउ गर्ने, सञ्चारमाध्यमको कार्यालयमा खानतलासी गर्ने कार्य गलत र अवाञ्छित भएको जनाएको छ।

उक्त घटनालाई स्वतन्त्र प्रेसमाथि मनोवैज्ञानिक त्रास सिर्जना गर्ने प्रयासका रूपमा लिँदै कांग्रेस राज्य संयन्त्रबाट पूर्वाग्रह र प्रतिशोधपूर्ण व्यवहार स्वीकार्य नहुने चेतावनी दियो। 

त्यस्तै बैठकले पार्टीका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लामो समयको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएकोमा स्वागत गर्दै पूर्ण स्वास्थ्य लाभको कामना गर्यो। देउवाले पार्टीको इतिहास निर्माण तथा लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको सम्मान गर्दै बैठक पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्न अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ।

सार्वजनिक लेखा समितिमा सत्तारुढ दलका सांसदबाट भएको अमर्यादित तथा असंसदीय व्यवहारप्रति पनि कांग्रेसले असहमति जनायो। संसद् र संसदीय समितिमा जनप्रतिनिधिको भाषा, शैली र व्यवहार मर्यादित हुनुपर्ने भन्दै कांग्रेसले आफ्ना सांसदलाई उच्च संसदीय मर्यादा कायम राख्न निर्देशन दियो।

बैठकले रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबाडामा अविरल वर्षापछि गएको पहिरोमा परी भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ। घटनामा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै कांग्रेसले पीडित परिवारलाई राहत तथा पुनर्वासको व्यवस्था गर्न, घाइतेको उपचार गर्न र बेपत्ताको खोजी कार्य तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ। बैठकमा बिहीबार १८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन्। 

साउन २८, २०८३ बिहीबार २२:५७:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।